इटहरी :करिब डेढ बर्षअघि इटहरी ४ मा आफुले खरीद गरेको जग्गा इटहरी २० का भक्तबहादुर कटवालले भोगचलन गर्न भने पाएका छैनन् । न्यायको लागि वडा कार्यालयमा पुगे पनि वडा ४ का अध्यक्ष चन्द्र भटराईले आफुलाई न्याय नदिएको पुरीको आरोप छ ।

कटवालले करीब इटहरी ४ फलामे पुल नजिकै श्रमिक चौकमा जगनाथ भट्टसँग १० धुर जमिन खरीद गरेका थिए । उनले खरीद गरेको जग्गामा भने पहिलादेखि नै जीवा चौधरी र सिता चौधरीले टहरा बनाएर बसेका छन् । पत्नी शारदा कटवाल आफ्नो जग्गा भोगचलन गर्न जादा जीवा, सिता र स्थानीय गंगा विष्टले हातपात गरेको भक्तबहादुर बताउँछन् । सो घटनापछि प्रहरीमा जाहेरी दिएको र जग्गा भोगचलन गरिपाउँ भनि शारदाले वडा कार्यालयमा निवेदन दिएका थिइन् । अध्यक्ष भट्टराईले आफ्नो मुख हेरेर छाडिदिन भन्दै आग्रह गरेको कटवाल दम्पत्तिको भनाई छ ।

गत शुक्रबार प्रहरीमा उजुरी दिएपछि शनिबार वडाध्यक्ष भट्टराईले मेरो लागि छोडिदिनु, म मिलाउँछु भनेको कटवालको भनाई छ । त्यसपछि भने अध्यक्ष भटराई सम्पर्कमा नआएको उनको गुनासो छ । ‘पहिला पनि पटक–पटक वडा कार्यालयमा जाहेरी दिदाँ उहाँले म यो जग्गाको केस मिलाउन सक्दिन भन्नुभयो,’ पीडित शारदाले भनिन्, ‘अहिले मैले प्रहरीकहाँ जाहेरी दिदाँ, मेरो लागि छोडिदिनु भन्दै छुटाएर लानु भयो, म अन्यायमा परेको छु ।’

51795658_247020326219393_49

शारदाले आफूले नम्बरी जग्गा किनेको भएपनि आफ्नो जग्गामा अरुले नै हडपेको बताईन् । इटहरी ४ ख किं नं. १३३७ र १३४७ गरि क्षेत्रफल ०–०–१० नम्बरको जग्गामा जीवा र सिताले छाप्रो बनाएर हडपेको उनको भनाई छ । सिडिओ कार्यालयमा पनि कटवालले निवेदन दिएकी थिइन् । उपमहानगरपालिकाको न्यायिक समितिमा पनि कटवाल पुगेको तर त्यहाँबाट पनि न्याय नपाएको उनले बताइन् । त्यसपछि सिडिओ कार्यालयमा जादा भोगचलन गर्नु भनि आदेश दिए पनि कार्यान्वयन नभएको बताइन् । सुकुम्बासी बस्ती मिलेर जग्गा भोगचलन गर्न नदिएको उनको भनाई छ ।

वडाध्यक्ष भट्टराईले भने नम्बरी जग्गामा कसैले हडप्दा नहडिपिने बताए । उनले भने, ‘कटवालले जग्गा किन्नु भन्दा अगाडि नै जीवाले छाप्रो बनाएको हो । तर, अहिले बाटो बनाउँदा खर्च हिसाब गर्नको लागि भनेर हामीले समिति बनाएका छौँ ।’ उनका अनुसार बाटोको हिसाब सार्वजनिक गरिएपछि दुवै पक्षलाई बोलाएर सहमति गराइदिने बताउँदै भने, ‘यो मुद्दा सिडिओ कार्यालयसम्म पुगेको छ । नम्बरी जग्गा अरु कसैको स्वामित्वमा परिवर्तन हुँदैन, दुवै पक्षलाई बोलाएर सहमति गराइदिने भन्ने छ ।’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिब कुमार श्रेष्ठले जग्गाको बिषय वडा कार्यालय वा न्यायिक समितिले हेर्नुपर्ने बताए । त्यहाबाट पनि नभए अदालती प्रक्रियामा जानुपर्ने भन्दै उनले जिउज्यानको सुरक्षाको जिम्मा प्रहरीको भएको बताए ।

सुनसरी प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेम प्रकाश उप्रेतीले जग्गा खरीद गर्नुभन्दा अघिकै विवाद रहेको भएपनि स्थानीयले जग्गाधनीलाई अन्याय गरेको बताए । ‘उहाँले आफ्नो मात्रै कुरा गर्नुहुन्छ, जग्गाको बिषयमा पहिला नै बुझेर किन्नुपथ्र्यो,’उप्रेतीले भने,‘मैले आफ्नो प्रक्रिया अनुसार काम गरेकै हँु, तर त्यहाँ वरिपरिका मान्छेले अन्याय गरेकै हुन् ।’ यो समस्या देशभरि रहेको भन्दै सिडिओ उप्रेतीले सुकुम्बासीविरुद्ध जान परिस्थिति सहज नभएको पनि बताए ।