इटहरी:इटहरीमा रहेको डिभिएम एकेडेमीले विद्यार्थीहरुलाई पूर्वीय संस्कार तथा वैदिक दर्शनमा आधारित शिक्षा प्रदान गर्ने कार्य एक भारतीय शैक्षिक संस्थाको समन्वयमा शुरु गरेको छ ।

भारतको डिभिएम एजुकेशन च्यारिटेवल एण्ड म्यानेजमेन्ट सोसाइटीसंग सहकार्य गरी नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीले विद्यार्थीहरुलाई केवल कितावी ज्ञान मात्र प्रदान गरेर यन्त्र मानव जस्तो वनाउनुको सट्टा विद्यार्थीहरुलाई नैतिकता, चरित्र, अनुशासन ,संस्कार ,परम्परा, सामाजिकता मान्यजनहरुलाई आदारसत्कार सिकाउने गरी शिक्षा दिन सहकार्य गरिएको डिभिएम इटहरीका प्रार्चाय वेणु सिटौलाले वताए । संस्कार र संस्कृतिहरुका विषयमा डिभिएमका भारतमा रहेका विद्यालयहरुको अध्ययन भ्रमण विद्यार्थीहरु गराई त्यहाको संस्कृति, रहनसहन जानकारी गराउनेदेखि यताका शिक्षकहरु उता गएर पढाउने तथा उताबाट यता शिक्षक ल्याएर पढाउनेसम्मको सहकार्य गर्ने योजना रहेको प्राचार्य सिटौलाले जानकारी दिए ।

शिक्षाका माध्यमबाट विद्यार्थीहरुलाई पाश्चात्य प्रभाव न्युनिकरण गर्दै संस्कारयुक्त शिक्षामा जोड दिदै संस्कार र संस्कृति शिक्षा प्रदान गर्ने गरी पाठ्यक्रम समेत तयार पार्ने लक्ष्य समेत राखिएको डिभिएम च्यारिटेवल सोसाइटीका अध्यक्ष भचस्पती कुलवन्तले जानकारी दिए । उनले पश्चिमेली मुलुकहरुको प्रभाव शिक्षामा समेत परेकोतर्फ मध्यनजर गर्दै पाठ्यक्रम तयार पारिने साथै आधुनिक शिक्षाको नीति वनाउने लक्ष्य राखिएको वताए । इटहरीमा रहेको डिभिएम एकेडेमीमा हाल पाँच सय ५० विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्ष, विज्ञान कक्ष,मल्टीमिडिया कक्ष, सभा हल प्राथमिक उपचारक कक्ष लगायतका भौतिक पुर्वाधारहरु रहेका छन् ।

यसैविच डिभिएम इटहरीले पत्रकार सम्मेलन गरी आगामी मंगलवार विद्यालयको वार्षिक कार्यक्रम गर्ने जानकारी दिएको छ । सो अवसरमा अभिभावक दिवस तथा बृहत शैक्षिक प्रर्दशी गरिने अध्यक्ष धु्रव सुब्बाले बताए । पत्रकार सम्मेलनकै क्रममा डिभिएम च्यारिटेवल सोसाइटीको एजुकेशन अफिसरमा डिभिएम इटहरीका प्राचार्य सिटौलालाई नियुक्त गरिएको पत्र समेत हस्तान्तरण गरियो । पत्रकार सम्मेलनमा विद्यालयमा आवद्ध भिम पौड्याल लगायतको सहभागिता रहेको थियो ।