धरान(डेस्क): प्रदेश सरकारले १ नं प्रदेशमा ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसमा तीन दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज आइतबार बसेको बैठकले फागुन ६, ७ र ८ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले मुख्यमन्त्रीको अध्यक्षतामा ५ सय १ सदस्यीय प्रदेश समारोह समितिसमेत गठन गरेको छ । जसमा सभामुख, प्रदेश सरकारका मन्त्रीहरु, उपसभामुख, प्रदेशसभाका सदस्यहरुसहित विभिन्न सरकारी तथा गैरसरकारी, शैक्षिक संस्थाका प्रतिनिधिहरु सदस्यकोरुपमा राखिएको छ । यस्तै, फागुन ६, ७ र ८ गते सरकारी, निजी क्षेत्र र सर्वसाधारणहरुको घरमा सरसफाईसहित साँझमा दिपावली गर्ने पनि बैठकले निर्णय गरेको छ । यसैगरि, ६ गतेबाट विद्यालयस्तरमा वत्तृत्वकला, निबन्ध प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिताहरु सञ्चालन गनेृ पनि निर्णय गरेको छ ।

52313832_787918034916036_10

यस्तै, फागुन ७ गते ट्राफिक चोक विराटनगरमा भेला भई मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसम्म नगर परिक्रमा गरी मन्तव्य कार्यक्रम गर्ने, सो दिन निर्वाचन दिवस पनि पर्ने भएकोले निर्वाचन दिवससहितको ब्यानरमा परिक्रमा गर्ने निर्णय भएको छ । यस्तै, ८ गते कोशी अञ्चल अस्पतालका विरामीहरुलाई विराटनगर महानगरपालिकातर्फबाट फलफुल वितरण गर्ने, बाल सुधार गृहका बालबालिकाहरुलाई जिल्ला समन्वय समितिकोतर्फबाट फलफुल वितरण गर्ने पनि निर्णय गरेको छ ।