धरान : किर्तिपुरका राजमान मानव र शुशिला महर्जन आठ वर्षदेखि सफाइ अभियानमा छन् ।

विश्वलाई सफा राख्नुपर्छ भनेर २०६७ सालदेखि उनीहरु निरन्तर सफाइ अभियानमा लागेका छन् । मानव भन्छन्, ‘काठमाडौंको फोहोर देखेर विश्वलाई मैले सफा गरे भने देश सफा हुन्छ भनेर २०६६ सालमा मैले नैतिक जिम्मेवारी लिए । त्यसपछि २०६७ सालदेखि निरन्तर सफाइ अभियानमा लागेको छौं ।’
उनीहरुले काठमाडौं महानगरपालिकासहित ६५ वटा नगरपालिकाको सफाइ गरिसकेका छन् । मंगलबार मानव र महर्जन पूर्वको सफा शहर धरानमा भेटिए । भानुचोकमा सफाइ गरिरहेका उनीहरुले तेस्रो पटक सफाइका लागि धरान आएको बताए । २०७० सालमा धरान आएर ४ दिन बढारेर गएको थिए । त्यसपछि ०७२ सालको मंसिरमा १५ दिन बढारेर गएको थिए– उनले काठमाडौँको नेवारी लवजमा भने ।
भर्खर विराटनगरमा सफाइ गरेर आएको उनीहरुले धरानलाई सबै भन्दा फोहोर नगरपालिकाको रुपमा चित्रित गरे । ‘धरानलाई सफा शहर भनेर प्रचार गरिएछ, तर, यो नगर नेपालकै सबैभन्दा फोहोर नगरमा पर्छ ।’ उनले भने, ‘हेर्नुस् त तपाईको बसपार्क कत्ति फोहोर छ, यो धरानको केन्द्र होनी ।’
सरसफाइबारे मानिसहरुलाई सचेतनाको कमि भएको अर्का अभियन्ता महर्जन बताउछिन् । सार्वजनिक ठाउँमा फोहोर गर्नु हुदैँन भनेर सबैलाई सचेतना गराउनुपर्ने उनको सुझाब छ । आफुहरु सर्बसाधारणलाई सरसफाइ बारे सचेतना समेत गराउदै हिडेको बताउँछिन् ।

safai

सफाइका लागि बुधबार धरान आएका उनीहरुले १२ दिन सफाइ अभियान चलाउने बताइन् । नगरका विभिन्न सामाजिक संघ, संस्थाको सहकार्यमा सफाइ अभियान चलाउदँै आएको बताउदै धरानको विभिन्न चोकहरुमा पनि सफाइ गरिने उनीहरुको भनाई थियो । चाडपर्व र विरामी भएको अवस्थामा मात्र घर जाने गरेका उनीहरु यसरी नै अभियान चलाएर हिडेको ८ वर्ष बित्न लागेको उनीहरुको भनाई छ । अब चाडवाड र विरामी भएको बेला त के गर्ने जानै पर्यो, अरु बेला यसरी नै विभिन्न नगरको सफाइमा नै समय खर्चिदै आएको छौं । बाँकी जिवन यसरी नै अभियान चलाएर बिताउने प्रण गरेका उनीहरु सफाइ अभियान कै सिलसिलामा बंगलादेशसम्म पुगेका थिए । बंगलादेशमा सरसफाइ अभियान चलाएको उनीहरुमा अनुभव छ । ९ वर्षमा बंगलादेशलाई सफा देश बनाउने प्रतिबद्धता जनाएर आएको मानवले सुनाए । विश्वको सबै भन्दा फोहोर देश बंगलादेशलाई ९ वर्षमा पूरै सफा बनाउने प्रतिबद्धता जनाएर आएको उनले बताए ।

manab

आफ्नै खर्चमा अभियानमा लागेको बताउने मानव पहिलो पटक आफ्नै गाउँमा महिला समूह गठन गरेर सरसफाइमा लाग्दा स्थानीयले स्याबासी दिएकाले यस क्षेत्रमा लाग्ने उर्जा जागेको थियो । उनको गाउँ पूरै यस्तै सामाजिक सेवामा लाग्छन् । आफ्नो घर, आँगन, गाउँ, टोल, नगर, देश आफुहरुले नै सफासंग राख्न सकिने ढृढ संकल्प बोकेका मानव र महर्जनको बुझाई छ । उनीहरुको काम देखेर काठमाडौका यूवराज खड्का भन्छन्, ‘मानिसहरुमा चेतना भएपनि सामान्य फोहोर गरेकै हुन्छन्, यस्ता कुराहरुमा ध्यान दिनपर्छ फोहोर गर्नुहुदैन ।’ पर्यटकहरुले पनि सार्वजनिक स्थलमा फोहोर गर्न हुदैँन भनेर सचेत हुनुपर्नेमा उनको जोड थियो । धरान शिक्षित, सचेत, सजग शहर भनेर चिनिन्छ । तर, यहाँको फोहोर सफाइ गर्नको लागि बाहिरबाट मानिसहरु आउँछन्, यो चै धरानको लागि लज्जाको विषय हो ।