धरान : राई जातीको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिबेशनको प्रचार-प्रसार अभियान  शुरु भएको छ ।

किरायाको फाल्गुन १८, १९ र २० गते हुने १० औं राष्ट्रिय महाधिबेशन सफल पार्नको लागि किराया जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा हाइकिङ, प्याराग्लाइडिङ गर्दै प्रचार अभियानको शुरुवात गरिएको हो । धरानको बुढासुब्बा प्याराग्लाइडिङ संघसंगको सहकार्यमा धरान–२० वाबुडाडा (चिण्डे डाँडा) बाट फ्लाइट गरिएको थियो भने किरात राई विद्यार्थी संघ सुनसरीको टोलीले वाबुडाडासम्म हाइकिङ गरेको थियो । महाधिबेशनको प्रचार अभियानलाई शुरुवात गर्नको लागि प्याराग्लाइडिङ र हाइकिङ गरिएको कार्यक्रमका संयोजक नविन राईले बताए ।

‘किरायाको १० औं महाधिवेशनको प्रचार अभियान प्याराग्लाइडिङ र हाइकिङ कार्यक्रम गरेर शुरुवात गरियो’–उनले भने । उनका अनुसार दुई वटा टेन्डम र ८ सोला फ्लाइटसहित १० जना प्याराग्लाइडर्सहरुले उडेका थिए । किरायाको झण्डासहित उडेर धरानमा पुष्पबृष्टि गदै प्रचार अभियानको शुरुवात गरिएको उनले बताए । वाबुडाँडाबाट उडेको प्याराग्लाडर्सहरु धरान रगशालामा अवतरण गरेका थिए । किरायाले प्याराग्लाइडिङ संगलाई अभियानमा साथ दिएको भन्दै नगद १० हजार रुपैयाँसहित धन्यवाद पत्र प्रदान गरेको छ । उक्त नगद तथा धन्यबादपत्र कार्यक्रमका प्रमुख अतिथी किराया केन्द्रीय सदस्य रामकर राईले संघका राम राईलाई प्रदान गरेका थिए ।

कार्यक्रममा किराया जिल्ला सुनसरी अध्यक्ष बलराम राई, सल्लाहकार किशोर राईलगायत पदाधिकारीहरुको सहभागीता रहेको थियो । भोली शनिबार धरान रनसंगको सहकार्यमा विहान ६ बजेदेखि तिनकुनेबाट यलम्बर पार्कसम्म रन हुने आयोजकले जनाएको छ । किरायाले प्रचारमा अभियानमा फाल्गुन १२ गते फुटसल, १३ गते साईकिलिङ, १४ बास्केटबल, १५ गते विशाल मोटरसाइकल र्यालीको आयोजना गरेको छ । १३ गतेदेखि सांस्कृतिक सांकेतिक सभा तथा माइकिङ कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

फाल्गुन १८ गते महाधिवेशनको खुल्ला सभा धरानको भानुचोकमा हुदै छ । महाधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।