धरान : किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको प्रचार अभियानको क्रममा दोस्रो दिन आज शनिबार धरानमा ३.५ किलोमिटर दौड गरिएको छ ।

आगामी फागुन १८, १९ र २० गते धरानमा हुन लागेको यायोक्खाको महाधिवेशनलाई भब्य बनाउनको लागि शुक्रबारदेखि प्रचार अभियान शुरु गरिएको थियो । शुक्रबार पदयात्रा र प्याराग्लाइडिङ गरेर प्रचार अभियानको शुरुवात गरिएको थियो । आज दोस्रो दिन धरान रनसंगको सहकार्यमा ३.५ किलोमिटर दौड गरिएको हो । प्रत्येक शनिबार रन गदै आएको धरान रनको आज ४०६ हप्ता पूरा गरेको अवसरमा ‘रन विथ किरात राई यायोक्खा’ नाम दिएर महाधिवेशनको प्रचार गरिएको प्रचार संयोजक राजेन्द्र राईले बताए । दौड मा ३०० जनाको सहभागीता रहेको धरान रनका अध्यक्ष रोमू राईले बताए  ‘धरान रनले आज ४०६ हप्ता पूरा गरेको छ, किरायासंग यो हाम्रो ऐतिहाशिक कार्यक्रम भयो’ उनले भने । विहान ठिक ७ बजेदेखि यलम्बर चोकबाट रन शुरु भएर तिनकुनेस्थित श्रीजङगाको शालिकलाई एक फन्को लगाएर पुनः यलम्बर चोकसम्म डौड पूरा गरिएको थियो । रनमा किरायका केन्द्रीय अध्यक्ष तिलक राई र लेखक जनकऋषि राईको पनि सहभागीता रहेको थियो । किरायाको झण्डा तथा टि–सर्ट लगाएर धावक/धाविकाहरुको सहभागीता रहेको संयोजक राईले बताए । ‘धरान रनसंगको सहकार्यमा किरायाको महाधिवेशनको प्रचार गरेका छौं’-उनले भने ।

प्रचार अभियानमा साथ दिएको भन्दै धरान रनलाई किरायाले धन्यवादपत्र किरायका केन्द्रीय अध्यक्ष राईले प्रदान गरेका थिए । किरायाले १ नम्बर प्रदेशलाई ‘किरात’ नामाकरण गर्नको लागि दबाबमुलक ढंगबाट महाधिवेशनको प्रचार गरिरहेको छ । भोली आइतबार फुटसल खेल खेलाइने आयोजकले जनाएको छ । किरायाले मोटर साइकल र्यालीको समेत  आयोजना गर्दैछ  ।

रनमा सहभागी धावक–धाविका पुरस्कृत

‘स्वच्छ धरान, स्वास्थ्य धरान’ भन्ने मुल सन्देश प्रबाह गदै हरेक हप्ता रनको आयोजना गदै आएको धरान रनमा सहभागी भएर २० हप्ता पूरा गरेका ३ जनालाई पुरस्कृत गरिएको छ ।

Dharan-Run--2

२० हप्ता पूरा गर्ने एलन दाहाल, आयूष लिम्बू र सेसेमा श्रेष्ठलाई बधाइ दिदै धरान रनको टिसर्ट प्रदान गरिएको हो । त्यसैगरी, ५० हप्ता पूरा गर्ने अरुण दाहाल र सागर तामाङलाई समेत टिसर्ट प्रदान गरिएको धरान रनका अध्यक्ष रोमू राईले जनाए । त्यस्तै, रनमा सहभागी भएर राम्रो दौड गर्ने वनिता राई र सन्तोष भुजेललाई जुत्ता प्रदान गरिदाँ १०० सय हप्ता डौड पूरा गर्ने विवेक राईलाई पनि टिसर्ट प्रदान गरिएको उनले बताए । उनीहरुलाई टिसर्ट तथा जुत्ता किरायाका केन्द्रीय अध्यक्ष तिलक राईलगायतले प्रदान गरेका थिए ।

तस्बिरः सौजन्य शिशिर राई