धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता झलनाथ खनालले एक, दुई जनाको निर्णयको आधारमा नभै सामुहिकरुपमा पार्टी एकीकरणको निर्णय हुनुपर्ने बताएका छन् ।

आइतबार धरानमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले पार्टी एकता गर्न गठित कार्यदल भंग भएपछि अब सचिवालयले जिम्मा पाएको भन्दै सामुहिकरुपमा नै निर्णय हुनुपर्ने धारणा राखे । ‘कार्यदल बनेपनि काम हुन सकेन, अब सचिवालयले जिम्मा पाएको छ,’नेता खनालले अध्यक्षद्धयप्रति संकेत गर्दै भने,‘सामुहिकरुपमा बसेर, नियमित बैठक बसेर सहमतिको आधारमा एकीकरण गरिनुपर्छ, एक दुई जनाले होइन ।’

पार्टी एकीकरण र बिघटनाको निर्णय गर्दा सबैसँग सल्लाह नभएको टिप्पणी गर्दै नेता खनालले तलको पार्टी विघटन गरेर अहिले समस्या भएको बताए । विघटन गर्दा पनि कति महिनाभित्र पुर्नगठन गर्ने भनेर सुनिश्चितता नगर्नु भुल भएको उनको भनाई थियो । ‘एकीकरण गर्दा सबैसँग सल्लाह भएन, दुई अध्यक्षबीच सल्लाह भयो,’उनले भने,‘तलको पार्टी विघटन गरिदिनुभो, त्यसो गर्नुपर्ने थिएन । आ आफ्नो कमिटि क्रियाशिल भइरहन्थ्यो । सम्पुर्ण गत पनि होइन, तर एउटा सर्त हुनुपथ्र्याे । दुई देखि तीनमहिनाभित्र पुर्नगठन गरिन्छ भन्ने सुनिश्चितता हुनुपथ्र्याे ।’

पार्टी विघटन गरेर समाजवाद नआउने

IMG_1792

नेता खनालले कम्युनिष्ट पार्टीको नेतृत्वविना समाजवाद आउने परिकल्पना गर्न नसकिने भन्दै एकीकरणको नाममा पार्टी विघटन गर्ने र तल्लो तहसम्म एकीकरणमा विलम्ब भइरहेको प्रति असन्तुष्टी व्यक्त गरे । पार्टी एकतामा विलम्व हुदा कार्यकर्ताहरुमा केही निराशा, दिशाहिनता र अन्यौलजस्तो देखिएता पनि चाडै पार्टी एकता भएर आशाको किरण देखापर्ने बताए ।

‘पार्टी विघटन गरेर समाजवाद परिकल्पना गर्न सकिदैन । केन्द्रीय, प्रान्तिय, स्थानीय सरकारले काम गरिरहेकै छ, तर पार्टीको विचार, योजना, नीति तथा कार्यक्रमअनुरुप भइरहेको छैन,’ नेता खनालले भने,‘निराशा, अन्यौलता, दिशाहिनताको कालो बादल चाडै फाट्छ, र ७ लाख नेकपाका सदस्यहरु गतिशिल भएर अघि बढेपछि राष्ट्रमा हलचल हुन्छ ।’ नेकपाले मात्र देशलाई डुब्नबाट जोगाउने दाबी गर्दै खनालले कांग्रेसले आफ्नो भविष्य नदेखेर अत्तालिएको र सरकारविरुद्ध दुष्प्रचारमा लागेको आरोप लगाए ।