धरानः किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको प्रचार अभियानको क्रममा आइतबार आयोजित फुटसल प्रतियोगिता धरान विगफुट फुटसल टिमले जितेको छ ।

धरान–१५ स्थित विगफुट फुटसलमा आयोजित प्रतियोगितामा आयोजक यायोक्खाको टिमलाई ८–४ गोलको फराकिलो अन्तरले हराउदै विग फुटसलको टिमले जितेको हो । विजेता बनेको विग फुटसलले नगद ५ हजार रुपैयाँसहित ट्रफी हात पारेको छ । उपविजेता बनेको आयोजक यायोक्खाले नगद ३ हजार रुपैयाँसहित ट्रफीमा चित्त बुझाउनु पर्यो । खेलमा विग फुटसलका अमृत लिम्बू उत्कृष्ट खेलाडी घोषित हुदै नगद ५ सय रुपैयाँसहित ट्रफी पाए ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई एन्फाका मानार्थ उपाध्यक्ष एबंम धरान फुटबल क्लवका अध्यक्ष किशोर राई, किरायाका केन्द्रीय अध्यक्ष तिलक राईलगायतले नगद तथा ट्रफी प्रदान गरेका थिए । विजेता र उपविजेताको लागि नगद रकम धरान फुटबल क्लवले व्यवस्था गरेको यायोक्खा जिल्ला सचिब राजेन्द्र राईले बताए ।

20190224_125049

बिहान ८ बजेदेखि शुरु भएको खेलमा विगफुट फुटसलले धरान नगर खेलकुद विकास समिति र बाइमा परेको धरान फुटबल क्लवलाई हराउदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । विग फुटसलले धरान नगर खेलकुद विकास समितिलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गदै धरान फुटबल क्लवसंगको भेट पक्का गरेको थियो । धरान फुटबल क्लवलाई ७–३ गोल अन्तरले हराउदै विग फुटसल फाइनलमा प्रबेश गरेको थियो ।

यता उपविजेता बनेको यायोक्खाले पत्रकारको टिमलाई ९–३ गोलको फराकिलो अन्तरले हराउदै फाइनलमा प्रबेश पाएको थियो । प्रतियोगितामा ५ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । यही फाल्गुन १८, १९ र २० गते धरानमा हुन लागेको यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको प्रचारको लागि फुटसल खेल प्रतियागिताको आयोजना गरिएको प्रचार संयोजक नविन राईले बताए । भोली सोमबार विहान साइकिलिङ गदै प्रचारलाई तिब्र पारिने आयोजकले जनाएको छ ।