झापा : राजधानी बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा पहिलो पटक निर्मित आकाशे पुलको गत २०७४ साल पुष २६ गते उद्घाटन गरिएको थियो । १७ फुट अग्लो, अढाई मीटर चौडा र २५ मीटर लामो सो पुलको प्रयोग भने न्यून मात्रामा हुने गरेको छ ।

राजधानी बाहिर झापाको दमकमा पहिलो पटक निर्मित आकाशे पुलको काम पैदल यात्रुलाई बाटो काट्ने भन्दापनि रमाईलो गर्न र सेल्फी खिच्न चाहि बढि प्रयोगमा आएको देखिन्छ । एक करोड १४ लाख ४१ हजार ८ सय ६३ रुपैयाको लागतमा निर्मित यो पुलको प्रभावकारितामा अहिले प्रश्न उठ्न थालेको छ । आकाशे पुल प्रयोग नगरी बाटो काटिरहेका एकजना वृद्धलाई कपुरीकर्मीले यो आकाशे पुलको प्रभावकारिताका बारेमा जिज्ञाशा राख्दा उनले आफु दमको रोगी भएको र यो पुलबाट आफुले बाटो काट्न नसक्ने जवाफ दिए ।
यस्तै एकजना विद्यार्थी यो पुल त सेल्फी खिच्न पो हो त भन्दै मुसुक्क मुस्कुराउन थाले । यस्तै जमातमै आएका केहि युवतीहरु आकाशे पुलमाथि पोज दिदै सेल्फी खिचिरहेका थिए । पछि उनीहरु पुलबाट झरेर बिच सडकबाटै बाटो काट्दै गर्दा उनीहरुलाई किन पुलबाट बाटो नकाटेर यताबाट हिडेको भनि प्रश्न गर्यौ । उनीहरुले यो पुल त यसो सेल्फी खिच्न पो चढेको त भन्दै आफ्नो बाटो तताए ।

राजधानी बाहिर पहिलो पटक निर्मित आकाशे पुलले दमकको सहरी शोभा वृद्धी र ट्राफिक व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको थियो । तर सोचे अनुरुप हुन सकेको छैन । अहिले यो आकाशे पुल धेरैका लागि सेल्फी खिच्ने गन्तव्य बनेको छ ।
जथाभावी बाटो पार गर्न हुदैन भन्ने ज्ञान सबैमा छ । तर अटेरीपनाका कारण नजिकै रहेको आकाशे पुलको प्रयोग छाडेर सडक पार गरिरहेका छन् पैदल यात्रीहरु । यसले आकाशे पुलको महिमा प्रति लज्जाबोध गराईरहेको छ । सडक पार गर्नका लागि निर्मित यो पुललाई सचेत वर्गकाहरु बाटैमा पनि उपहास गरिएको पाईन्छ । यस बिषयमा दमक ट्राफिक प्रमुख दधिराम दाहाल नागरिक आफै सचेत नभएसम्म आफुहरुले केहि गर्न नसक्ने बताउछन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको ७३ लाख २ हजार ५ सय ६३ र दमक नगरपालिकाको आन्तरिक स्रोतबाट ४० लाख ४८ हजार ८ सय ६३ रुपैया गरि कूल एक करोड १४ लाख ४१ हजार रुपैयाँमा निर्माण गरिएको यो आकाशे पुल के अब सेल्फी खिच्नैका लागि मात्रै हो त भन्ने प्रश्न उठ्न थालेको छ, यतिबेला ।