इटहरी: गएको कार्तिक १७ गते इटहरी २ का मानबहादुर भुजेललाई भेटेर मेयर द्धारिकलाल चौधरीले जागिर दिने आश्वासन दिएका थिए । पोलियोको कारण दुवै खुट्टा नचल्ने भुजेललाई त्यसबेला हर्षको कुनै सिमा थिएन ।

उनी जनता बहुमुखी क्याम्पसमा बि.ए. तेस्रो वर्षमा अध्ययनरत छन् । मेयर चौधरीले जागिर दिने आश्वासन पाउदा निक्कै हर्षित बनेका उनी अहिले भने निराश छन् । मेयर चौधरीको आश्वासन पाएका ४ महिना बितिसक्दा पनि उनले जागिर भने पाएका छैनन् । २०५० सालमा जन्मेका भुजेल डेढ बर्षकै उमेरमा पोलियोले ग्रस्त भएपछि दुवै खुट्टा चल्दैन । उनी शारीरिक अपाङ्ग भए पनि अध्ययनलाई भने निरन्तरता दिदै आएका छन् ।

जागिरको आश्वासन पाएका भुजेलले मेयर चौधरीलाई सम्पर्क नगरेको भने होइन । मेयरले भनेअनुसार आवश्यक कागज पत्र पनि पेशेकै हुन् । त, कर्मचारी समायोजनको कारण समस्या भएको जवाफ मेयर चौधरीबाट पाएका छन् । ‘मेयर साबलाई फोन गरेको थिएँ, कर्मचारी समायोजनले समस्या छ भन्नुभो । समायोजन पछि काम हुन्छ भन्नु भएको छ,’पुनः आश्वासन पाएकोबारे भुजेलले भने । कपुरीकर्मीले पनि मेयर चौधरीसँग सम्पर्क गर्दा समायोजनले रोकिएको प्रतिक्रिया दिदै समायोजन सम्पन्न भएपछि भुजेललाई जागिर दिइने बताए ।

शारीरिकरुपमा अपांग भुजेलको लागि जागिर मात्र समस्या भने होइन । उनले विद्यालय अध्ययन गर्दादेखि नै अपांगमैत्री भौतिक संरचना र शौचालय नपाउदा धेरै सास्ती खेप्नु परेको तितो अनुभव छ । स्कुलमा पढाइ भइरहेको बेला दिसापिसाब आउदा उनको लागि धेरै पीडादायी क्षण हुन्थ्यो । उनले प्राथमिक तहदेखि नै अपाङ्गमैत्री शौचलाय उपभोग गर्न पाएनन्, जुन समस्या अहिलेसम्म झेलिरहेका छन् । क्याम्पसहरु पनि अपाङ्गमैत्री छैनन् । ‘अपांगमैत्री वातावरण, भौतिक संरचनाहरु नहुदा मजस्तालाई धेरै नै समस्या छ,’उनले भने ।