इटहरी: एक्टिभ नारी प्रकाशन समूहले इटहरीबाट बिगत १९ बर्षदेखि निरन्तर प्रकाशित गर्दै आएको सूचना र सञ्चार साप्ताहिकले १९ औ बार्षिकोत्सव मनाएको छ ।

इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरमा मंगलबार एक कार्यक्रमको आयोजना गरि पत्रिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्दै बार्षिकोत्सव मनाएको हो । सम्मानित हुनेमा राजनीतिकर्मी ओम कोइराला, अधिवक्ता रमेश पोखरेल, क्रिकेट संघ सुनसरी अध्यक्ष सीपी पौडेल, उद्योगी कृष्ण न्यौपाने, बिज्ञापनदाता विष्णु मिष्ठान्न भण्डार छन् । यस्तै, सञ्चार उद्यमी चेतन धमला, पत्रकारद्धय विराट अनुपम र सुप्रिया राईलाई पनि सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सम्मान पत्र र खादा ओढाएर सम्मान गरेका थिए ।

मन्त्री कार्कीले महिलाहरुको सक्रियतामा स्थानीयस्तरमा लामो समय अगाडिबाट पत्रिका सञ्चालन गर्नु सुखद् रहेको र आफुले सकेको सहयोग गर्दै जाने बताए । कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवा, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, सम्मानित मध्येबाट ओम कोइराला लगायतले बोलेका थिए । सोही कार्यक्रमको अवसर पारेर सुनसरीका अग्रज पत्रकार याम प्रधानलाई उपचार खर्च स्वरुप नगद ५ हजार रुपैँया सहयोग गरिएको थियो । कार्यक्रम पत्रिकाकी प्रधान सम्पादक सुभद्रा प्याकुरेलले सञ्चालन गरेकी थिईन् भने सबिना कोइरालाको सभाध्यक्षमा सम्पन्न भएको थियो । आगामी दिनमा पनि निरन्तर रुपमा पत्रिकालाई प्रकाशन गरि समाजमा रहेका महिला तथा बालबालिकाका समस्यालाई प्राथमिकतामा राख्ने पत्रिकाकी सम्पादक यशोदा सेनेले बताईन् ।