मकाउ:‘इतिहास, भुगोल, संस्कृति र सभ्यताको सम्मान, एक नम्बर प्रदेश किरात प्रदेश समग्र देशबासीको आह्वान’ भन्ने मुल नाराका साथ किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा यायोक्खा मकाउ शाखाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्नुका साथै भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

किराया मकाउका अध्यक्ष भिम कुमार राई ‘किरात’को अध्यक्षता तथा यायोक्खाका केन्द्रिय कार्यबाहक अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । यायोक्खा मकाउले आफ्नो समुदायका विभिन्न विधाका अग्रज स्रष्टाहरुलाई किरात राई यायोक्खा सुम्निमा भवनमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । मकाउ शाखाका महासचिव मंगल राईका अनुसार गीत, संगीत, कला, भाषा साहित्य, खेलकूद, समाजसेवा र मनोरञ्जन क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको छ ।

यायोक्खाको महाधिवेशन यही फागुन १८, १९ र २० गते धरानमा हुदैछ । महाधिवेशनमा ३२ जिल्ला कार्यसमिति, २६ भाषिक संस्था, ८ वटा भातृ संस्था, १७ वटा विदेश शाखा गरि करिब एक हजार प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुदैछन्। प्रदेश १ को नामाकरणको विषयमा विभिन्न समुह, संस्था र राजनैतिक पार्टीहरुको गतिविधिको कारण पेचिलो बन्दै गई रहेको बेला हिउँदे अधिवेशन पनि चलिरहेको छ । यही समयमा यायोक्खाको महाधिवेशन पनि प्रदेश नं १ को धरानमा हुदैछ । यायोक्खाले प्रदेश १ को नाम किरात हुनुपर्ने आफ्नो एजेण्डा अघि सारिरहेको छ ।