धरान: धरानको वडा नं ६ पानवारीबाट अत्याधुनिक अतियारसहित पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी(विप्लव नेतृत्व)को कोशी ब्यूरो सदस्य देवकुमार लिम्बूलाई म्याद ६ दिनको म्याद थप भएको छ ।

लिम्बूलाई शुक्रबार जिल्ला अदालत सुनसरीबाट अनुसन्धानको लागि ६ दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनले गम्भीर बिषय भएको र अनुसन्धानको क्रममा रहेकोले थप जानकारी दिन मानेनन् । 'यो बिषयमा माथिल्लो तहबाटै अनुसन्धान भइरहेको छ, त्यसैले मसँग धेरै जानकारी पनि छैन,'उनले भने, यति हो शुक्रबार ६ दिनको म्याद थप भयो । लिम्बूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ को हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको डिएसपी तिम्सिनाले बताए ।

गएको बुधबार बिहान लिम्बूलाई धरानको पानवारीस्थित मोरंग जिल्लासँगको सिमाना चोक्टीबाट चेकजाँचको क्रममा ट्राफिक प्रहरीसहित २ जना प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट एम १६ र एलएमजी वरामद भएको थियो । प्रहरी चेकजाँच छल्न मुख्य सडक नभै माथिल्लो पानवारी हुदै मोटरसाइकलमा लिम्बू र अर्का एक व्यक्ति पुर्वतर्फ जादै थिए । तर, उनीहरुलाई चोक्टीमा प्रहरीले राखेको बिशेष चेकिंगको क्रममा समातेका थिए । मोटरसाइकल नरोकी भागेपछि पिछा गर्दै गएको २ प्रहरीले मोटरसाइकल लडेपछि लिम्बूलाई पक्राउ गर्न सफल भए । अर्का, एक व्यक्ति भने उम्कन सफल भएका थिए ।

हतियार द्धन्दकालकै भएको अनुमान

लिम्बूको साथबाट वरामद भएको हतियार द्धन्दकालकै भएको अनुमान प्रहरीको पनि छ । तर, ठोस प्रमाण जुटिसकेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी राजन अधिकारीले भने,'द्धन्दकालको हतियार हो भन्ने अनुमान हो तर यो अनुसन्धानकै क्रममा छ । कहाँबाट ल्याएको हो ? कस्को अभिलेखमा थियो ? कसरी आइपुग्यो भनेर अनुसन्धान नै भइरहेको छ ।'

एसपी अधिकारीका अनुसार हतियारसम्बन्धी जानकार बिशेषज्ञ टोलीसमेतले अनुसन्धान गरिरहेको छ । 'हतियारसँग सम्बन्धित बिषय भएकोले आवश्यकताअनुसार विंग्स्, सबै टिमले हेर्छ,'उनले भने । एसपी अधिकारीले विस्तृत खुलाउन नचाहे पनि काठमाण्डौबाट डिएसपीको कमाण्डमा बिशेष ब्युरो टोली नै धरान आएर अनुसन्धान गरिरहेको छ । 'आतंकवाद र सशसत्र समुहलाई हेर्ने बिशेष ब्युरो छ, त्यहाँबाट डिएसपी सापको कमाण्डमा आएको टोलीको डेस्क नै बसेको छ,'प्रहरी स्रोतले भन्यो ।