धरान: प्रहरीले द्धन्दकालको अत्याधुनिक हतियारसहित पक्राउ परेका देवकुमार लिम्बूलाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले लिम्बूलाई पक्राउ गरेको ४ दिन पछि आज सार्वजनिक गरेको हो ।

लिम्बूलाई गएको बुधबार धरान ६, पानबारीको चोक्टी चोकबाट पक्राउ गरेको थियो । उनी नेत्रबिक्रम चन्द्र(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कोशी ब्युरो सदस्य हुन् । मोरङको केराबारीतर्फ गइरहेको मोटरसाइकल मे ५ प ७५ नम्बरको मोटसाइकल पनि प्रहरीले पक्राउ गरेको थियो । द्धन्दकालमा तत्कालीन बिद्रोही माओवादीले लुटेको अत्याधुनिक हतियार भेटिएको हुनाले प्रहरीले यो घटनाबारे तत्काल सार्वजनिक एवं जानकारी गरेको थियो । इलाका प्रहरी कार्यालय धरानका अनुसार बुधबार बिहान करिब साढे ९ बजे मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा नरोकी भागेको र पिछा गरेर नियन्त्रणमा लिएको जनाएको छ ।

मोटरसाईकलमा पछाडि बस्ने ब्यक्तिले बोराले बेरी बोकेको प्लाईउडको बाकसहरु चेकजाँच एवं खानतलासी गर्दा कपडाले बेरी लुकाई राखेको एल.एम.जी. राईफल १ नाल, सोको स्टेण्ड १ थान, म्याग्जिन २ थान र एम १६ अमेरिकन राईफल १ थान, सोको म्याग्जिन १ थान फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । सो मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका १० भाउन्नेका ४२ को देव कुमार लिम्बु (संगित भन्ने) पक्राउ परेको पनि उनले जानकारी दिए । उनलाई पक्राउ गरी हातहतियार मुद्दामा म्याद थप लिई आवश्यक अनुसन्धान भई रहेको जनाएको छ ।