लहान: सिरहाको औरही गाउँपालिकामा सम्पन्न पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमा दुई हजार पशु चौपायाको निःशुल्क जाँच गरिएको छ ।

गाउँपालिकाको सहयोग र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको आयोजनामा सम्पन्न शिविरमा गाई, भैसीलगायत एक हजार २०० र बाख्रा ७०० लाई जाँच गरी भ्याक्सिनेसन गरेको जनाइएको छ । शिविरमा १० पशुचौपायामा कृत्रिम गर्भधारण सेवा दिइएको गाउँपालिकाको पशु शाखाप्रमुख रमेश शर्माले जानकारी दिए ।

शिविरमा पशुपालन गर्ने किसानलाई पशु बीमा, पशु स्वास्थ्य, पशुमा कृत्रिम गर्भधारण र पशु स्याहारका बारेमा जनचेतना दिइएको थियो । शिविरमा जाँच गराइएका पशुमा कुनै ठूलो रोग नभए पनि पशुमा स्वास्थ्य अवस्था कमजोर रहेको पाइएको भटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको वरिष्ठ पशु विकास अधिकृत ध्रुवकुमार यादवको भनाइ छ ।