धरान: किरात राई यायोक्खाको धरानमा जारी १० औं महाधिवेशनको बन्द सत्रबाट आज नयाँ नेतृत्व चयन नहुने भएको छ ।

धरान ८ स्थित सभागृहमा जारी बन्द सत्रमा अहिले विधान संशोधन, सांगठनिक र आर्थिक प्रतिवेदनमा छलफल गरी टुंगो लगाउने प्रक्रियामा रहेको छ । आज राती करिब १० बजेसम्ममा विधान संशोधन, प्रतिवेदनलगायतमा छलफल गरी पारित हुने र भोली बिहानबाट मात्र नयाँ नेतृत्व चयनको विधिवत प्रक्रिया शुरु हुने यायोक्खाका केन्द्रीय उपमहासचिव धिरेन्द्र रुम्दाली राईले जानकरी दिए । अहिले विधान संशोधन, सांगठनिक र आर्थिक प्रतिवेदनको अन्तिम टुंगो लाग्ने क्रममा छ, रुम्दालीले भने, आज प्रक्रिया शुरु भएपनि विधिवतरुपमा चै भोली बिहानबाट मात्र नेतृत्व चयन शुरु हुन्छ ।

उपमहासचिव रुम्दालीले नेतृत्व चयन सर्वसम्मत गर्नुपर्छ भन्ने सबैको चाहना रहेको पनि जानकारी दिए । यद्यपी, कुन पदमा कस्को दाबी रहने भनेर भोली मात्र थाह हुने उनले बताए । महाधिवेशनको बन्दसत्रमा हिजो आइतबार विभिन्न जिल्ला, भातृ संस्था, भाषिक संगठनहरुको प्रतिबेदन पेश भएको थियो । आज बन्द सत्रको दोस्रो दिन किरात राज्यको अवधारणा, विधान संशोधन, सांगठनिक, आर्थिक, भाषा, धर्म, संस्कार संस्कृतिलगायतको ५ वटा प्रतिवेदन प्रस्तुत भएको थियो ।

yayokha 1

यायोक्खाको केन्द्रीय सदस्य दोर्पध्वज राईले वर्तमान कार्यसमिति विघटन गर्नुपर्ने र नयाँ चयन गर्न आज समय अभाव हुने बताए । ‘आज हाम्रो सेड्यूल अनुसार कार्यसमिति चयन गर्ने भन्ने छ, तर, केन्द्रको प्रतिवेदनहरुमा छलफल चलिरहेकोले आज नेतृत्व चयन हुने सम्भावना न्यून छ, समय अभाव छ,’उनले भने । राई पत्रकार संघको प्रतिनिधिको बिषयले पनि बन्दसत्रको तालिकालाई असर पारेको उनको भनाई थियो । यसपटक नेतृत्व, पदाधिकारी र सदस्यसम्म धेरै आकांक्षीहरु भएको उनले बताए । ‘सबै पदहरुमा आकाक्षी धेरै छन्, तर यसबारेमा छलफल हुन बाँकी छ, अहिलेसम्म चनाव नगरी सहमतिमै नेतृत्व चयन भएको छ, सहमतिमै हुन्छ,’उनले भने ।