धरान: धरान उपमहानगरपालिकाको वडा नं १९ लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । मंगलबार वडा कार्यालयले एक कार्यक्रम आयोजना गरी वडा १९ लाई पुर्ण खोप सुनिश्चत वडा घोषणा गरिएको हो ।

कार्यक्रममा धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले वडा १९ लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरेकी थिइन् । उनले धरानलाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्य राखिएको र त्यसको लागि पुर्ण खोप सुनिश्चित पनि एक सुचक भएकोले सबै वडाहरुले पहल गर्नुपर्ने बताइन् । उनका अनुसार हालसम्म ९ वटा वडा मात्र पुर्ण खोप सुनिश्चित वडा घोषणा भएका छन् । ‘सबै सरोकारवालाहरु मिलेर जन्मेदेखि १५ महिनासम्मका बच्चाहरु खोपबाट बञ्चित हुन दिनु हुदैन, उनीहरु स्वास्थ्यसँग बाच्न पाउने अधिकार हो,’उनले भनिन् ।

purna-khop2

वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बूका अनुसार वडामा निवार्चित भएर आएदेखि नै जन्मेदेखि १५ महिनासम्म बच्चाहरुको तथ्यांक संकलन गरेर नियमित अनुगमन गरिएको र सोही अनुसार पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको बताए । ‘जम्मा ३६ जना बच्चाहरुको तथ्यांक लिएका थियौ, उनीहरुले १५ महिनासम्म लगाउनुपर्ने सम्पुर्ण खोप पुरा गरे,’अध्यक्ष लिम्बूले भने,‘उनीहरुपछि पनि जन्मिएका बच्चाहरुले खोप लगाए, नलगाएको अनुगमन भइनै रहेको छ, हाम्रा ४ जना स्वास्थ्य स्वयंसेविकाहरु खटिरहेका छन् ।’

अध्यक्ष लिम्बूका अनुसार गत बर्ष २ सातासम्म जन्मदर्ता अभियान चलाइएको थियो । त्यसपछि, वडाको टोल टोलमा खोप लगाउने अभियान पनि चलाइएको थियो । ‘जन्म दर्ता र खोपबाट कोही बच्चा पनि छुटेका छैनन्,’उनले भने,‘नगरको अनुगमन समितिबाट पनि अनुगमन भएपछि घोषणा भएको हो ।’ पुर्ण खोप सुनिश्चित वडा घोषणा कार्यक्रममा ४ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई नगदसहित सम्मान पनि गरिएको थियो ।