धरान : प्रदेश १ प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री कमरेड भरतमोहन अधिकारीको निधनबाट मुलुकलाई अपुरणीय क्षति पुगेको बताएका छन् ।

उनले सोमबार एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘कमरेड मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको सरकारमा अर्थमन्त्रीको हैसियतले ल्याउनु भएको “आफ्नो गाउँ आफै बनाऔं” र ७५ बर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिने “वृद्धभत्ता” कार्यक्रमले नेपाली मनमा बाँची रहन सफल हुनुभयो ।’
प्रमुख तुम्बाहाङले अधिकारीको निधनले अत्यन्त दुःखित बनेको र नेपाल अधिराज्यको संविधान २०४७ र नेपालको अन्तरिम संविधान २०६३ जारी गराउनमा एक नेताले निर्वाह गर्नु पर्ने जिम्मेवारी इमान्दारीसाथ निर्वाह गरेर प्रत्येक नेपाली जनजनको मनमा बसेको बताएका छन् ।
उक्त विज्ञप्तीमा तुम्बाहाङले भनेका छन्, ‘२०४६ सालको जनआन्दोलनपूर्व बाम मोर्चाको गठन र पछिल्लो कालखण्डमा नेपाल कम्युनिस्ट पार्टि (नेकपा) को निर्माणमा समेत उहाँकोे उल्लेख्य भूमिका रह्यो । म उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यस दुःखद घडिमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दछु ।’