धरान: “बदलिदो बिश्व परिवेशमा मनोचिकित्सकका बिभिन्न आयाम” भन्ने नाराका साथ नेपाल मनोचिकित्सक संघको सातौ राष्ट्रिय सम्मेलन बिहिबारदेखि धरानमा शुरु हुदैछ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई दिनसम्म चल्ने सम्मेलनमा देशविदेशका डेढ सय बढी विशेषज्ञ मनोचिकित्सकहरु सहभागी हुनेछन् । वीपी प्रतिष्ठानस्थित मानसिक विभागको आयोजना रहेको सम्मेलनमा नेपालबाहेक अष्ट्रेलिया, भारत, रसियाबाट पनि मनोचिकित्सक तथा मानसिक स्वास्थ्यमा कार्यरत व्यक्तिहरु सहभागी हुने आयोजक समितिका अध्यक्ष डा. बैकुण्ठ राज अधिकारीले जानकारी दिए ।

सन १९९८ बाट शुरु भएको सम्मेलन प्रत्येक २/२ बर्षमा हुन्छ । यो सम्मेलन पहिलो पटक धरानको वीपी प्रतिष्ठानमा नै भएको थियो । दुई दशकको अन्तरालामा पुनः धरानमा सातौ सम्मेलन हुन लागेको हो । सम्मेलनमा मानसिक स्वाथ्य सम्बन्धीका विभिन्न अध्ययन, अनुसन्धान, कार्याशाला, गोष्ठीलगायतको कार्यक्रम हुने अध्यक्ष डा.अधिकारीले जानकारी दिए । उनका अनुसार बिहिबार बिहानैदेखि विभिन्न सेसनहरु सञ्चालन भएपनि औपचारिक उद्घाटन साँझ ५ बजे प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्नेछन् ।