विराटनगर ः नेकपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुले कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीलाई जन्मकैद फैसला गरेकोविरुद्ध जनतासमक्ष जाने प्रतिक्रिया दिएको छ ।

हिजो बुधबार अदालतले टीकापुर घटनाका मुख्य आरोपी चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेपछि राजपा रुष्ट छ । सो पार्टीले बुधबारै आकस्मिक बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । सप्तरीको मलेठमा हुने कार्यक्रमका लागि विराटनगर आइपुगेका पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, सरदसिंह भण्डारी र महेन्द्र राय यादवले फैसला विरुद्ध जनतासमक्ष जाने बताएका हुन् । नेता महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला हुनु ज्यादै दुःखद भएको पनि बताए ।

नेता महतोले अधिकार प्राप्तिका लागि भएको आन्दोलनमा सहभागी नेतालाई सजाय हुदा विगतमा भएका सबै आन्दोलनका नेताहरुलाई पनि सजाय हुनुपर्ने जिकिर गरे । 'यो त अन्याय हो, आन्दोलनको क्रममा सहभागीहरुलाई सजाय हुने हो भने विगतको सबै आन्दोलनका सहभागी नेताहरुलाई पनि सजाय हुनुपर्यो नि,'उनले भने । महतोले वर्तमान संविधान आदिवासी, थारू र मधेशी समुदायलाई विभेद कायमै रहेकोले अधिकार प्राप्तिको आन्दोलन जारी रहेको बताए ।

अध्यक्ष मण्डलका सदस्य भण्डारीले पनि सांसदलाई फौजदारी अभियोग लगाई न्याय सम्पादन गर्दा जनतामा वितृष्णा आउने भन्दै छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे । मधेश आन्दोलन र थारूहट आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक भएमा सबै सत्य,तथ्य बाहिर आउने उनले बताए ।