विराटनगर: उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले वरिष्ठ भाषाविद प्राध्यापक वालकृष्ण पोखरेलप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गरेका छन् ।

आज बिहान विराटनगरस्थित पोखरेल निवास पुगेर पोखरेलले श्रद्धाञ्जली एवं समवेदना ब्यक्त गरेका हुन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले भाषाविद वालकृष्ण पोखरेलको निधनले नेपालको भाषा,साहित्य र सस्कृतिको क्षेत्रमा ठूलो रिक्तता पैदा भएको बताए । उनले भाषाविद पोखरेल नेपाली भाषाको अन्वेषण,अनुसन्धान र इतिहासका प्रणेताको सग्लो विम्व रहेको पनि बताएका थिए ।

एक ब्यक्तिको जीवनमा स्वर्गीय पोखरेलले दिएको योगदान विरलै ब्यक्तिले मात्र दिन सक्ने उपप्रधान तथा रक्षामन्त्री पोखरेलले श्रद्धाञ्जली पत्रमा उल्लेख गरेका छन् । भाषाविद पोखरेलका १ सय १५ कृति प्रकाशित भएका छन् । खस जातिको इतिहास, सय वर्ष र नेपाली वृहत शब्दकोश लगायत उनका चर्चित कृति हुन् । उनको फागुन १२ गते ८६ बर्षको उमेरमा निधन भएको थियो ।