धरान: थुप्रै राजनैतिक परिवर्तनले पनि पितृ सत्ता र समाजले सोच वदल्न नसकेकोले अझै पनि महिला नेतृत्व स्वीकार गर्न नसकीरहेको धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताएकी छिन् ।

१०९ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सञ्जाल शुक्रबार धरानको भानुचोकमा आयोजित सभालाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख भण्डारीले पित्तृसत्तात्मक सोचकै कारण आफुलाई हरेक कोणबाट कमजोर बनाउने प्रयास भइरहेको बताइन् । आफुविरुद्ध षडयन्त्र भइरहेको भन्दै उनले आफुलाई साथ, सहयोग दिन पनि महिलाहरुलाई आग्रह गरेकी थिइन् । ‘अहिले पनि पितृसत्ता र सोचले महिलाको नेतृत्व स्वीकार गर्न सकिरहेको छैन, मेयर तारा सुब्बाको निधन भएपछि म कार्यवाहक प्रमुख भए, त्यसपछि मैले यो कुरा प्रत्यक्ष महसुस गरे,’कार्यवाहक प्रमुख भण्डारीले भनिन्,‘महिला नेतृत्व स्वीकार्न नसकेर महिलाले काम गर्न सक्दैन,जान्दैन भन्ने जस्ता कुराहरु गर्ने, हल्ला फैलाउने गर्ने गरिरहेका छन् ।’

कार्यवाहक प्रमुख भण्डारीले आफु आफ्नो पार्टी र मतदाताहरुप्रति सधै इमान्दार भएर प्रतिवद्ध रहने पनि बताइन् । साथै, उनले महिला दिदीबहिनीहरुको मत पाएर जित हासिल गरेकोले आफुविरुद्ध हुने षडयन्त्रलाई महिलाहरुकै साथ लिएर प्रतिकार गर्ने पनि उद्घोष गरिन् । ‘म कार्यवाहक भएपछि मविरुद्ध प्रपञ्चहरु भए, षडयन्त्र भए, म तपाईहरुको मत पाएर विजयी भएकी हुँ, त्यसैले तपाईहरुकै साथ लिएर त्यस्तो षडयन्त्रको प्रतिकार गर्न चाहन्छु, तपाईहरु पनि मलाई साथ दिएर उभिनुपर्छ,’उनले भनिन् ।