धरान: प्रतिनिधि सभाकी सांसद एवं महिला नेतृ डा.डिला संग्रौलाले महिलाको हातमा मुलुकको कार्यकारी पदको बागडोर पुगे मात्र देश समृद्ध र खुशी हुने बताएकी छिन् ।

१०९ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सञ्जाल धरानले भानुचोकमा आयोजित सभालाई सम्बोधन गर्दै सांसद संग्रौलाले समृद्ध र नयाँ नेपाल बनाउन कार्यकारी पदमा महिला पुग्नैपर्ने बताइन् । ‘देशलाई समृद्ध, विकासित बनाउने हो भने राष्ट्रको प्रमुख कार्यकारीको चाबी महिलालाई जिम्मा दिनुपर्छ,’सांसद संग्रौलाले भनिन्,‘महिलालाई मियो बनाउन सक्यो भने मात्र देशको विकास हुन्छ, मुलुक अघि बढ्छ ।’

मुलुकको बागडोर महिलाको हातमा सुम्पन आग्रह गर्दै नेतृ संग्रौलाले तबमात्र समृद्ध नेपाल, खुशी नेपालको सपना पुरा हुने बताइन् । हरेक परिवर्तनको नायक महिला भए पनि अवसर आउदा भने महिलालाई पुरुषहरुले पछाडि पार्ने गरेको पनि टिप्पणी गरिन् । ‘लोकतन्त्र ल्याउन, गणतन्त्र ल्याउन महिलाहरु शहीद भएका छन्, महिलाहरुको सिन्दुर पुछिएको छ, यस्तो जगमा ल्याएको लोकतन्त्र, गणतन्त्रमा ३ बर्ष बच्चीदेखि ७१ बर्षकी आमासम्म बलात्कृत भइरहेको छ, अब महिलामाथिको अन्याय, अत्याचार कुनै पनि रुपमा सह्य हुदैन,’नेतृ संग्रौलाले भनिन् । उनले महिलामाथि हुने अन्याय, बलात्कारबारे फाष्ट ट्रयाक कोर्ट आवश्यक रहेको भन्दै संसदमा त्यसबारे आवाज उठाउने बताइन् ।

dila

सांसद संग्रौलाले महिलाहरुको तेत्तिस प्रतिशत अधिकारको लडाई सकिएको भन्दै अब महिलाहरुले पचास प्रतिशत हिस्साको युद्ध लड्नुपर्ने समय आएको बताइन् । यसको लागि महिलाहरुलाई जागरुक रहन पनि उनले आग्रह गरिन् । महिलाले गर्न सक्दैन भन्ने पुरुषको सोच राजनैतिक नेतृत्वमा पनि हावी भएकै कारण सातै प्रदेशमा एक जना पनि मुख्यमन्त्री महिला पाउन नसकिएको बताइन् । ‘राजनीतिमा महिलाहरुको अर्थपुर्ण सहभागिता हुन सकेको छैन, त्यसैले अब ३३ होइन, पचास प्रतिशतको लडाई हाम्रो हो,’उनले भनिन्,‘के महिलाले प्रदेश हाक्न सक्दैनन् ? यसखालको राजनैतिक विभेद अन्त्य गर्नुपर्छ ।’ कार्यक्रममा नेकपाका प्रदेश १ कमिटि सदस्य अइन्द्रबिक्रम बेघा, साविक एमालेका नगरसचिव राजमणी निरौला र नेपाली कांग्रेसका नगरसभापति तिलक राईले पनि सम्बोधन गरेका थिए ।