धरान: ८ मार्च तथा १०९ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार धरानमा श्रमिक महिला, साहित्यकारसँगै महिलालाई न्याय दिलाउन निश्वार्थ सहयोग पुर्याउन अधिवक्तासमेत सम्मानित भएका छन् ।

महिला सञ्जाल धरानले भानुचोकमा वृहत कार्यक्रम आयोजना गरी श्रमिक महिला, साहित्यकार र अधिवक्तालाई सम्मान गरेको हो । सञ्जालले साहित्यकार तथा पुर्वसांसद कुन्ता शर्मालाई साथी अवार्डबाट सम्मानित गरेको थियो । शर्मा पञ्चायतकोलमा शिक्षण पेशामा रहेर पनि निरंकुशताविरुद्ध लडेकी थिइन् । उनी आफ्नो सृर्जनाहरुमार्फत सशक्तरुपमा व्यवस्थाविरुद्ध आवाज उठाउथिन् । उनी सुनसरी क्षेत्र नं १ बाट २०५६ सालमा सांसद पनि बनेकी थिइ्न ।

यसैगरि, गहना कालीगढ पेशामा रहेकी अम्बिका बराइलीलाई पनि फरक पेशा अंगालेको भन्दै सञ्जालले सम्मान गरिएको थियो । उनलाई नगद ५ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो । गहना कालीगढमा पुरुषहरुको संख्या बढी छ । तर, अम्बिकाले पुरुषहरु हावी भएको पेशा अंगालेको कारण सम्मान गरिएको सञ्जालले जनाएको छ ।

IMG_2307

यस्तै, पीडित महिलाहरुको कानुनी लडाईमा विना पारिश्रमिक कानुनी परामर्श र बहस पैरवी गरिदिने धरानका अधिवक्ता दर्शन राईलाई पनि सम्मान गरिएको थियो । सञ्जाललाई निःशुल्क कानुनी परामर्श दिदै आएका राईले पछिल्लो समय धर्मपुत्री अनुषा राईको बलात्कार र हत्याको घटनामा निःशुल्करुपमा नै बहस गरिदिएका थिए । निक्कै चर्चित बनेको यो घटनामा आरोपित धर्म बुबा र आमालाई अदालतबाट जन्मकैद सजाय दिइसकेको छ । सम्मानित तिनै जनालाई सञ्जालकी अध्यक्ष सविता राई र प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य डा.डिला संग्रौलालगायतले सम्मान पत्र प्रदान गरेका थिए । यसैगरि, धरान १५ स्थित सदन सभाहलमा अनेम संघ र अनेमसंघ क्रान्तिकारीले पनि १ सय ३७ जना निर्माण, यातायातलगायत क्षेत्रका कार्यरत महिलाहरुलाई सम्मान गरेको जनाएको छ ।

IMG_2296