धरान: बेलायतमा रहदै आएका सन्तोष राई धरान रनका संस्थापक हुन् । उनकै परिकल्पना हो, हरेक साता शनिबार बिहानै धरानेहरु दौडने धरान रन । विगत ८ बर्षदेखि धरान ८ स्थित यलम्बर वन समुहअघिबाट धरानेहरु धरान रनमा दौडिरहन्छन् ।

संस्थापक राईकै पहलमा ७ बर्षदेखि धरान रन नेवा च्यारिटी रन पनि आयोजना भइरहेको छ । यसको लागि उनी हरेक बर्ष धरान आउछन्, र आयोजना गरेर फर्कन्छन् । यसपाली पनि ७ औं सँस्करण हुनअघि उनी धरान आएका छन् । तर, यसपाली उनी धरान आउदा साथमा असिमित खुशी, उत्साह र उपलब्धी पनि लिएका आएका छन् । त्यो उपलब्धी हो, उनी विश्वकै कठिन तथा मुख्य ६ वटा म्याराथन पुरा गर्ने पहिलो नेपाली भएका छन् ।

भर्खर मात्र उनी गत आइतबार( मार्च ३) मा जापानको टोकियो म्याराथन पुरा गरेर नेपाल आएका हुन् । यो उनको छैटौ म्याराथन सहभागिता हो । विश्वका मुख्य ६ वटा म्याराथन पुरा गर्ने उनी पहिलो नेपाली हुन् भने ११ जना भारतीयहरु पछि दक्षिण एसियाका उनी मात्र धावक बनेका छन् । ‘विश्वमा धेरै नै म्याराथनहरु हुन्छ, तर मुख्य ६ वटा म्याराथन छ । जति पनि म्याराथन रनरहरु छन्, उनीहरु सबैको लक्ष्य यही ६ वटा म्याराथन पुरा गर्ने हुन्छ,’गृहनगर धरानमा भेटिएका राईले भने,‘६ वटा म्याराथन पुरा गर्नु कठिन चुनौती हुन्छ, त्यसैले धेरै जना २, ३ वटा म्याराथन पछि अरुमा पुरा गर्न सक्दैनन्, मैले अठोट गरेको थिएँ, पुरा गर्नसके ।’

aIMG_20

राईले सबैभन्दा पहिला २०१७ मा लण्डन म्याराथन पुरा गरेका थिए । त्यसबेला उनलाई त्यो म्याराथनमा भाग लिने अचानक मौका मिल्यो । त्यसपछि उनलाई लाग्यो,‘६ वटा म्याराथन पुरा गरेर नेपालको पनि इज्जत बढाउछुँ ।’ त्यसपछि, उनी निरन्तर अन्य म्याराथनहरुमा भाग लिदै गए । सन् २०१७ मा नै उनले जर्मनीको बर्लिन म्याराथन पनि पुरा गरे । त्यहाँ टाइमिङ राम्रो भएको कारण उनी छनौट हुन सफल भए । छनौट हुन नसकेको भए ५, ६ लाख रुपैया तिरेर भाग लिनुपर्ने हुन्थ्यो । त्यसपछि, २०१८ मा ३ पटक अमेरिका गएर बोस्टन, सिकागो र न्युयोर्क म्याराथन पनि पुरा गरेका थिए । उनले अन्तिम तथा छैटौ म्याराथन गत आइतबार टोकियो म्याराथनमा भाग लिएर पुरा गरे । ‘यी म्याराथनहरुमा भाग लिन त्यति सजिलो हुदैन, हजारौंले फारम भरेका हुन्छन्, र छनौट हुन ज्यादै कठिन हुन्छ,’राईले भने,‘अरु म्याराथन कुदेको रिजल्ट पनि हेर्छन्, कतिमा कोटा हुन्छ । इन्ट्री हुनै गाह्रो छ ।’

विश्वका मुख्य ६ म्याराथन पुरा गर्न मेहनत जति लाग्छ, खर्च पनि असाध्यै हुन्छ । जो कोहीले पुरा गर्न सम्भवै हुन्न । अहिलेसम्म विश्वका ४ हजार धावकधाविकाले मात्र यी ६ वटा प्रमुख म्याराथन पुरा गरेका छन् । यसपाली टोकियो म्याराथनमा सहभागी भएर ६ वटै म्याराथन पुरा गर्ने नेपालका राईसहित ७ सय मात्र थिए । ‘हाम्रो टाइटिमको रिजल्ट आउनै बाँकी छ, तर मैले टोकियो म्याराथनसँगै ६ वटा म्याराथन पुरा गरेको मेडल पाइसके, केही समयपछि नेपालको राष्ट्रिय झण्डासहित वेवसाइटमा राखिन्छ,’उनले भने,‘यो मेरो मात्र उपलब्धी होइन, धरान र नेपालकै लागि इज्जत हो भन्ने लाग्छ ।’

जोगिएको खर्च सहयोग 

aIMG_201

धावक राईले ६ वटा म्याराथनमा सहभागी हुनको लागि १० हजार पाउण्ड खर्च विनियोजन गरेका थिए । उनले ६ वटै म्याराथन पुरा गर्दा त्यो खर्च सकिएन । अधिकांश म्याराथनमा ‘क्लालिफाइ’ भएको कारण उनको खर्च जोगिएको थियो भने जहाँ जहाँ म्याराथन भएको थियो, त्यहाँका साथीभाईको सहयोग भएकोले पनि उनको खर्च जोगियो ।

आफुले म्याराथनको लागि भनेर छुट्याएको खर्च जोगिएपछि उनले शनिबार आयोजित आरती स्ट्रिप्स धरान १० के रन नेवा च्यारिटी कार्यक्रममा दुई संस्थालाई प्रदान गरे । ‘६ वटा म्याराथनको लागि न्युनतम १० हजार पाउण्ड खर्च हुन्छ, मैले पनि छुट्याएको थिए, तर सबै खर्च भएन,’राईले भने,‘म त्यो जोगिएको पैसा सहयोग गरेको हुँ ।’ उनले सेतो पुतली अभियन्ता मिलन राई र एचआइभि प्रभावित बालबालिकाहरुको शिक्षाको अक्षयकोषको लागि धरान पोजेटिभ समुहलाई सहयोग प्रदान गरेका थिए ।

धरान रनको परिकल्पनाकार, सामाजिक अभियन्ता

IMG_2453

करिब ८ बर्षअघि धरानेहरुलाई स्वास्थ्य राख्न भनेर नियमित दौडने सन्देश दिन धरान रन शुरु भएको थियो । त्यसबेला पहिलो साता १५, २० जना मात्र युवाहरु दौडिएका थिए । यसको प्रमुख परिकल्पनाकार सन्तोष राई थिए । लण्डनमा हरेक आइतबार पार्क रन आयोजना हुन्छ । उनी पनि त्यहाँ दौडन्थे । त्यही पार्क रनकै अवधारणामा धरान रन सन्तोषसहित उनका साथीहरु मिलेर शुरु गरेका थिए ।

अहिले धरान रनले व्यापकता पाइसकेको छ । प्रत्येक शनिबार ५ बर्षका केटाकेटीदेखि ६५ बर्ष माथिका वृद्धवृद्धाहरु पनि हरेक शनिबार धरान रनमा दौडन्छन् । स्वास्थ्यप्रति धरानेहरुलाई निक्कै सचेत र सजग गराउन सफल भएको छ । यसको श्रेय सन्तोष राईलाई नै जान्छ । त्यति मात्र होइन, ७ बर्षदेखि नेवा च्यारिटी धरान रन दौड प्रतियोगिता पनि उनकै आँटले आयोजना भइरहेको छ । यस्तै, विपन्न तथा असहाय बालबालिकाहरुको शिक्षाको लागि अक्षय कोष पनि स्थापना भएको छ । थुप्रै असहायहरुलाई आवश्यक सामग्री तथा आर्थिक सहयोग धरान रनले गरिसकेको छ भने अचेल अक्षय कोषमार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिरहेको छ ।

साभार: नागरिक पुर्वेली