धरान: गुरुङ जातिको साझा संस्था तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद १ नं प्रदेश समितिको आयोजनामा चार दिवसीय खेमा लिपी प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि मोरङको बेलबारीमा शुरु भएको छ ।

फागुन २९ गतेसम्म हुने लिपी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन संस्थाका केन्द्रिय सह महासचिव डम्बरबहादुर गुरुङको प्रमुख आतिथ्यमा शुरु भएको हो । सहमहाचिव गुरुङले एक कार्यक्रमबीच चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको शुरुवात गरेका थिए । सो प्रशिक्षणमा पुर्वको ८ जिल्लाको करिव ४० जनाको सहभागिता रहेको आयोजक प्रदेश समितिले जनाएको छ ।

प्रशिक्षण कार्यको सहजीकरणका लागि प्रमुख प्रशिक्षकमा तमु लिपी अभियन्ता भिम तमु (बुटवल) र सहायक प्रशिक्षकमा पोबिन्द्र तमु रहेका छ्न् । बेलबारीस्थित नेपाल तमु बुद्धिष्ट गुम्बामा प्रशिक्षण कार्यक्रम शुरु भएको हो । प्रशिक्षण उद्घाटन कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष कृष्णराज तमुले गरेका थिए भने सञ्चालन सचिव होम घलेले गरेका थिए ।

गत बर्ष बुटवलको पार्षद सभाबाट खेमा लिपीलाई आधिकारिक लिपीकोरुपमा पारित भएअनुसार प्रदेशस्तरमा खेमा लिपीको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको केन्द्रीय सहमहासचिव गुरुङले बताए । जिल्ला समिति मोरङले व्यवस्थापन गरेको कार्यक्रमको उद्द्घाट्न सत्रमा प्रमुख अतिथि गुरुङसँगै रणबहादुर गुरुङ, बकसमान गुरुङ, भिम गुरुङले पनि मन्तव्य राखेका थिए ।