धरानः नेपाली कांग्रेस धरान उपमहानगर समितिले निवार्चित जनप्रतिनिधिहरुको कार्यशैली र कामहरुले धरान भ्रष्ट, नक्कली र किर्ते गर्नेहरुको शहर हुन लगेको भन्दै चिन्ता प्रकट गरेको छ ।

कांग्रेसका सचिव श्याम पोख्रेलले एक विज्ञप्ती जारी गर्दै गएको स्थानीय तहको चुनावमा धराने जनतालाई खबरदारी गर्दागर्दै पनि विगतकै पार्टीलाई जिताएको भन्दै अहिले तिनै जनप्रतिनिधिहरुको चरित्र र प्रवृत्तिले धरान भ्रष्टहरुको शहर, नक्कली र किर्ते गर्नेहरुको शहरमा परिणत हुन लागेको उल्लेख गरेका छन् । विज्ञप्तीमा धरान उपमहानगरपालिकामा जनप्रतिनिधि भएर पुगेकाहरुका काम कार्वाहीहरुले धरानबासीको शिर झुकाउने काम भैरहेको भन्दै आपत्तिसमेत जनाइएको छ ।

पछिल्लो पटक चन्द्रशेखर महादेव गुठीको जग्गा बिक्री प्रकरणमा अदालतमा किर्ते मतियारको अभियोगमा मुद्दा दायर गरिएका वडा नं १६ का अध्यक्ष दिलकुमार गिरी विवादमा छन् । कांग्रेसले विज्ञप्तीमा उनै अध्यक्षप्रति आपेक्ष लगाउदै स्वाभिमानी जनतालाई ठुलो आघात परेको पनि जनाएको छ । ‘धरान भ्रष्टहरुको शहर, नक्कली र किर्ते गर्नेहरुको शहरको रुपमा स्वयम् जनप्रतिनिधिले परिणत गर्दै लगिरहेमा नेपाली कांग्रेस र यस क्षेत्रका स्वाभिमान जनतालाई ठूलो आघात र पीडा हुन थालेको छ,’विज्ञप्तीमा भनिएको छ ।

तत्कालीन नेकपा एमालेबाट निवार्चित जनप्रतिनिधिले धरानको विकास निर्माण, सुकुम्बासी समस्या समाधान, बसपार्क निर्माण, खानेपानी समस्याको समाधान, पर्यटन क्षेत्र, व्यापारिक क्षेत्रको प्रोत्साहन, धरान र यहाँका जनताको वृत्तिविकासको साटो ५/५ वर्षभित्र आफू मोटो हुने मात्र काम गरेको आरोप विज्ञप्तीमा लगाइएको छ । यस्तै, पार्टीका कार्यकर्तालाई स्थानीय निकायको कार्यालयमा जागिर खुवाउने, सबै कार्यालय एमालेको पार्टी कार्यालय जस्तो बनाउने, हरेक वर्ष करवृद्धि गरी धराने जनताको ढाड सेक्ने, आवश्यकता बिहीन सवारी साधन खरिद गर्ने, विभिन्न शीर्षक खडा गरी लाखौँ रुपैँया अपचलन गर्ने जस्ता खराब गतिविधिले धरान उपमहानगरपालिकाको साख गिर्दो अवस्थामा पुगेको पनि विज्ञप्तीमा आरोप लगाइएको छ ।

धरान उपमहानगरपालिकाको नेतृत्व कहिले मेलाको विषयमा, कहिले महेन्द्र क्याम्पसको जग्गा सिफारिसको विषयमा विवादमा आउने त कहिले बसपार्कको विवाद समाधान नगरी सबै पक्षलाई नसमेटी कालो झण्डा र नाराबाजीको बीचमा लागत तर्जुमा विना (डिपीआर) क्षमता र सम्पन्नताको कुनै लेखाजोखा नगरी हचुवाको भरमा शिलान्यास गरिएको पनि विज्ञप्तीमा उल्लेख छ । यस्तै, विज्ञप्तीमा एइयुडीपीको खानेपानी परियोजनाले पानी वितरण नगरेको बिषयमा पनि प्रश्न गरेको छ ।