धरान(डेस्क) ‘स्वतन्त्र मधेश’ गठबन्धनका संयोजक सीके राउत र नेपाल सरकारबीचको ११ बुँदे सहमतिको एउटा बुँदाले राजनैतिक तरंग ल्याइरहदा आज जनकपुरधाम पुगेको राउतको समर्थकहरुले प्रर्दशन र गतिविधिहरुले थप आशंका जन्माएको छ ।

सरकारले राउतसँग जनमत संग्रह गराउने गरी सहमति गरेको बिषयमा आजै संसदमा समेत प्रतिपक्षीहरुले चर्कोरुपमा उठाएका थिए । सत्तापक्षकै सांसदले पनि सहमतिको दोस्रो बुँदाले राष्ट्र बिखण्डन गर्ने भन्दै आपत्ति जनाइसकेका छन् । आइतबार जनकुपुर विमानस्थलमा राउतलाई स्वागत गर्न पुगेका राउतका कार्यकर्ताहरुले स्वतन्त्र मधेशको झण्डा बोकेका थिए । उनीहरुले स्वतन्त्र मधेशको नाराबाजी पनि गरे । सरकारले जनमत संग्रह वा अलग मधेशको बिषयमा कुनै सहमति नभएको दाबी गर्दै आएको छ । राउतले नेपालको संविधान र अखण्ड नेपालप्रति प्रतिवद्धता जनाएको सरकारी दाबी छ । तर, सरकारी दाबीलाई राउत र उनका कार्यकर्ताहरुको पछिल्लो गतिविधिले नै शंकाको घेरामा तानिरहेको छ । राउतका कार्यकर्ताहरुले आाइतबार जनकपुरमा ‘मधेश देश लेके रहेंगे’ भन्ने नारा लगाएका थिए । त्यति मात्र होइन, ‘फ्रि मधेश’ लेखिएको झण्डा बोकेर कार्यकर्ताहरु उनलाई स्वागत गर्न पुगेका थिए ।

राउतलाई विमानस्थलमा लिन कार्यकर्ताहरु मात्र होइन, छुट्टै सुरक्षा गार्डहरु पनि पुगेका थियो । यसअघि राउतले सैन्य तालिम दिएको चर्चा चलेपनि पुष्टि हुन सकेको थिएन । तर, आइतबार बुलेटप्रफ ज्याकेट लगाएका गार्डहरु राउतको सुरक्षाको लागि विमानस्थल पुगेका थिए । गार्डहरुले बुलेट प्रूफ ज्याकेट, टाउकोमा रातो कपडा र स्वतन्त्र मधेश गठबन्धनको झण्डा बाँधेका थिए । साथै, मास्कले मुख छोपेको र चश्मा लगाएका थिए ।

sike rawat

अलग एवं स्वतन्त्र मधेशको मुद्दा उठाइरहेका राउतसँग सरकारले शुक्रबार मात्र सहमति गरेको थियो । सहमतिको दोस्रो बुँदामा नेपालको संविधान प्रदत्त जनतामा निहित सर्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेश लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टीहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक बिधिबाट समाधान गर्न सहमत भएका छौ भनिएको छ । यसलाई सरकारले अलग मधेशको मागबाट राउत पछि हटेको अर्थमा व्याख्या गरिरहेको छ भने सत्तापक्षकै नेता, प्रतिपक्षका नेताहरुले भने सरकारले जनमत संग्रह गराउन सहमति गरेको भन्दै सरकारको आलोचना गरिरहेको छ । नेपालको राजनीति सहमति प्रकरणले तात्तिइरहदा आइतबार राउत जनकपुर पुगेपछि त्यहाँ देखिएको गतिविधिले राउत र सरकारबीचको सहमति संकटमा परेकै हो त ? भन्ने प्रश्न उब्जिएको छ ।