धरान:विजयपुर डाँडा पुरात्तात्विक, धार्मिक र ऐतिहासिक महत्वको भएकोले जथाभावी प्लटिङ भएर सम्पदाहरु नष्ट नहोस् भनेर धरान उपमहानगरपालिकाले मठमन्दिरको ४ सय मिटर क्षेत्रमा डोजर तथा जेसिबि प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । तर, उपमहानगरको यो निर्णयलाई लत्याउदै विजयपुरमा जथाभावी डोजर लगाएर प्लटिङ र डाँडा काट्ने काम भइरहेको पाइएको छ ।

पछिल्लो समय बहुजातिय संग्रहालय नजिकै २ स्थानमा जेसिबि डोजर लगाएर जथाभावीरुपमा डाँडा काट्ने काम भइरहेको भेटिएको छ । ती दुवै स्थानमा उपमहानगरपालिकाबाट स्वीकृति लिइएको छैन । विजयपुर डाँडातर्पm जोखिम निम्तिने गरी धरान १ मा व्यापारी पवन अग्रवालले जेसिबि लगाएर काम गरिरहेका छन् भने अर्को बहुजातिय संग्रहालय नजिकै बिर्ख बहादुर डंगोलले डाँडा काटेका छन् । दुवैले आसपासको क्षेत्रमा गम्भीररुपमा जोखिम निम्तिएको छ भने समयमै सचेत नभए भविष्यमा विजयपुर जाने सडक र निर्माणाधिन संग्रहाल, घरहरुलाई नै क्षति पुग्ने प्राविधिकहरुले नै बताएका छन् । उपमहानगरले पत्राचार गरेर काम रोक्न निर्देशन दिएपछि त्रिपालले छोपेर भित्रभित्रै डोजर लगाएर डाँडा भत्काएको बताइएको छ।

स्थलगत अनुगमन गरी काम रोक्न निर्देशन

IMG_20190310_122457

जथाभावीरुपमा डोजर लगाएर विजयपुर डाँडातर्फ कटान गरिरहेको र त्यसले भविष्यमा संग्रहालयलाई नै असर पुग्ने भन्दै आइतबार आदिबासी जनजाति अगुवाहरुले अग्रवालको कामप्रति विरोध जनाएका थिए । उनीहरुले उपमहानगरपालिकामा मौखिक उजुरी दिएपछि कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी आफै प्राविधिकसहितको टोली लिएर स्थलगत निरीक्षणमा पुगिन् । त्यसपछि पो अग्रवालले पटक पटक उपमहानगरपालिकाको निर्देशन अटेर गरेको रहस्य खुल्यो । लगत्तै कार्यवाहक प्रमुख भण्डारीले काम रोक्न निर्देशन दिइन् । यस्तै, अर्को डंगोलको जग्गा पर्ने डाँडा काट्न पनि काम रोक्का भइसकेको छ ।

उपमहानगरपालिकाले यसअघि अग्रवाललाई भने २ पटक पत्र पठाएर काम रोक्न निर्देशन दिएको रहेछ । सो स्थानमा अग्रवालले के बनाउन लागेको हो ? त्यो नै स्पष्ट नभएको उपमहानगरपालिकाको प्राविधिकहरु बताउँछन् । त्यसैले नक्सापास र स्वीकृति नै भएको छैन । स्वीकृति नै नलिई धामधम डोजर लगाएर डाँडा काट्न थालेपछि पटक पटक पत्राचार गरेर काम नगर्न निर्देशन दिदा पनि अग्रवाल परिवारले अटेर गरेको प्राविधिकहरु बताउँछन् । ‘उहाँहरुले जसरी काम गरिरहनु भएको छ, त्यसले माथिको क्षेत्रमा जोखिम बढाएको छ,’इञ्जिनियर सुुरज श्रेष्ठले भने,‘विना स्वीकृति काम नगर्न भन्यौ, लिखितरुपमा काम रोक्ने सहमति पनि भयो, तर काम रोकिएन ।’

पवन अग्रवालले भने आफ्नो जग्गा जोगाउनको लागि वाल उठाउन काम गरेको बताए । उपमहागनरबाट रोक्न भनेपछि काम रोकिएको भन्दै उनले आफ्नो बचाउ गरे । 'काम पहिला नै रोकिसकेको हो, केही असझदारी मात्र भएको हो,'उनले भने ।

अग्रवाललाई कारबाही गर्ने निर्णय

IMG_20190310_124903 1

स्थलगत निरीक्षण गरेर कार्यवाहक प्रमुख भण्डारीले काम रोक्न निर्देशन दिएपछि आइतबार दिउँसो सोही बिषयमा उपमहानगरमा बैठक बस्यो । बैठकमा बहुजातिय संग्रहालय सम्बन्धित जनजाति अगुवा, सरोकारवाला वडा नं १ र १४ का अध्यक्ष, प्राविधिक र जग्गाधनी पवन अग्रवाल पनि सहभागी थिए । कार्यवाहक प्रमुख भण्डारीको अध्यक्षतामा बसेको बैठकले पटक पटक निर्देशन उल्लंघन गरेको र नक्सापास स्वीकृति नलिई डोजर लगाएर डाँडा काटेको भन्दै कारबाही गर्ने निर्णय भएको बैठकमा सहभागी आदिबासी जनजाति महासंघ सुनसरीका सल्लाहकार डम्बर तमु गुरुङले जानकराी दिए ।

उनका अनुसार त्यसक्षेत्रमा क्षति हुने उच्च जोखिम भएकोले उपमहानगरको प्राविधिकको निर्देशन र रोहबरमा अग्रवालले तत्काल रिटेनिङ वाल बनाउने पनि निर्णय भएको थियो । ‘धेरै नै जोखिम छ भन्ने प्राविधिकहरुको कुरा आयो । पटक पटक काम रोक्न निर्देशन दिदा पनि अटेर गरिएको रहेछ,’उनले भने,‘जग्गाधनी अग्रवाललाई कारबाही गर्ने र जग्गा वर सारेर रिटेनिङ वाल उठाउने निर्णय भयो ।’

के हुन्छ कारबाही ?

IMG_20190310_124959

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नक्सापास नगरी वा स्वीकृति नलिई संरचना बनाउनेलाई कारबाही गर्ने अधिकार मेयरलाई दिएको छ । ऐनअनुसार न्युनतम १० हजारदेखि ५ लाखसम्म जरिवाना लगाउने अधिकार छ । त्यति मात्र होइन, स्वीकृति विना निर्माण भएको संरचनाहरु पनि भत्काउने अधिकार स्थानीय तहलाई छ ।

अग्रवालको हकमा भने स्वीकृति विना वा नक्सापास विना मात्र काम गरेको होइन । स्थानीय सरकारको निर्देशन पटक पटक उल्लंघन गरेका छन् । त्यति मात्र होइन, उपमहानगरपालिकामा काम रोक्ने लिखित सहमति गरेर पनि त्यसलाई अटेर गरेकोले न्युनतम नभै अधिकतम कारबाही हुनुपर्ने माग गरिएको छ ।