धरान:दुई बर्षे कार्यकाल सकिनै लाग्दा धरान १० स्थित महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) नेतृत्व विवादमा फसेको छ ।

फागुन २५ गते सम्पन्न स्ववियु सभामा प्रस्तुत आर्थिक प्रतिवेदन पारदर्शी नभएको भन्दै अन्य विद्यार्थी संगठनहरुले तीब्र विरोध र आलोचना गरेसँगै कार्यकालको अन्तिम समयमा स्ववियु नेतृत्व विवादमा फसेको हो । आर्थिक प्रतिवेदन अस्पष्ट भएको भन्दै अनेरास्वयवियु र अनेरास्ववियु क्रान्तकारीले सोमबार स्ववियुमा तालाबन्दी गरिदिएका छन् । अनेरास्ववियुका क्याम्पस कमिटि अध्यक्ष सुजन खत्री र क्रान्तिकारीका अध्यक्ष हेमराज राईले तालाबन्दी गर्दै स्ववियु ढोकामा विज्ञप्ती टाँसेका छन् ।

अनेरास्ववियु क्याम्पस अध्यक्ष खत्रीका अनुसार सभामा आर्थिक प्रतिवेदन अस्पष्ट र अपारदर्शीढंगले प्रस्तुत भएकोले विरोध गर्दै तालाबन्दी गरिएको हो । ‘कुनै पनि संस्था, संगठनको आर्थिक प्रतिवेदन कहिल्यै संशोधन नहुने नजिर छ, तर स्ववियु नेतृत्वले संशोधन गरेर अर्को प्रतिवेदन ल्याउने भन्ने सुन्नमा आयो,’उनले भने,‘स्ववियु नेतृत्व एकदमै गैरजिम्मेवारढंगले प्रस्तुत भइरहेको छ ।’ स्ववियुको २ बर्षे कार्यकालमा हरेक बर्ष एक पटक स्ववियुको साधारणसभा बस्नुपर्ने भएपनि यहाँ एकैपटक कार्यकालको अन्तिममा सभा बोलाइएको खत्रीको भनाई छ ।

IMG_20190311_141050

स्ववियु सभामा कुल ११ लाख ७४ हजार २ सय ५२ रुपैयाको आय र ११ लाख ७३ हजार ७ सय ९० रुपैयाको व्यय भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदनमा ६ वटा स्वागत तथा विदाई कार्यक्रमको खर्च ४ लाख ४ हजार देखाइएको थियो । यसैमा विद्यार्थी संगठनहरुको असन्तुष्टी रहेको छ । स्ववियु सभापति सागर सरगम चेम्जोङले भने पुर्ण आर्थिक प्रतिवेदन आउनै बाँकी रहेको दाबी गरे । आन्तरिक हिसाबको खेस्रालाई नै विद्यार्थी संगठनहरुले प्रोपोगण्डा बनाएको उनको भनाई थियो । ‘पुर्ण बैठकले आर्थिक प्रतिवेदनलाई पास गर्न बाँकी नै छ, आन्तरिक हिसाबलाई स्ववियुभित्रै साथीहरुले बाहिर लगेर प्रोपोगण्डा बनाए,’उनले भने । स्ववियुमा ताला लागेको बिषयमा आफुलाई जानकारी नै नभएको सभापति चेम्जोङले बताए । चुनाव आउन लागेकोले पनि प्रोपोगण्डा बनाएको उनको आरोप थियो । महेन्द्र क्याम्पसमा सभापति संघीय समाजवादी फोरम निटक संघीय विद्यार्थीका हुन् भने सचिव नेवि संघका हुन् ।

स्ववियुकै एक सदस्यले भने फागुन २५ गते स्ववियु सभा आयोजना गरेर आर्थिक प्रतिवेदन प्रस्तुत भइसकेको बताए । उनका अनुसार त्यसदिन मायाको चिनो वितरण गरिनुका साथै अन्तिम मन्तव्यसमेत राख्ने कार्यक्रम भएको थियो । ‘तर, अन्तिममा आर्थिक प्रतिवेदनको विवाद उब्जिएपछि स्ववियु बैठक मात्र भनियो,’उनले भने । स्ववियुको २ बर्षे कार्यकाल सकिन अब केही दिन मात्र बाँकी छ । चैत १ गतेदेखि स्ववियु कार्यकाल समाप्त हुदैछ ।

54204352_2311514405794844_3