काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने बताएका छन ।

नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।  फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिष्फोटको बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न आएको टोलीसँग बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पारे । “कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन्” प्रधानमन्त्री ओलीले भने “जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।”

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिष्टका नाममा घिनलाग्दो काम गरिरहेको पनी बताए । कम्यूनिष्टले त यूवाहरुलाई कर्मठ र कर्मशिल हुन सिकाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “कम्यूनिष्टले त यूवाहरुलाई कर्मशिल हुन,सही बाटोमा हिडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो यहाँ त कम्यूनिष्टको नाममा यूवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।”
प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको बिस्फोटप्रति दुःख व्यक्त गर्दै ।यस घटनाको बारेमा सरकारले छानविन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरेका छन् ।