धरान:महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियुसँगै क्याम्पस प्रशासनमा पनि लागेको ताला खुलाउन क्याम्पस प्रशासन र सर्वदलीय बैठक सम्पन्न भएको छ ।

क्याम्पस प्रशासनले ताला खुलाउन आज बुधबार बिहान सर्वदलिय बैठक बोलाएको थियो । बैठकमा नेकपाका नेता चोत्लुङ, राजमणी निरौला, संघीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष ताजुब लिम्बू, कांग्रेसका नगर सचिव श्याम पोख्रेल बैठकमा बसेका थिए । क्याम्पस प्रमुख चन्द्रकुमार राईका अनुसार बैठकले २ दिन भित्र स्ववियुको यथार्थ हिसाबको विवरण सार्वजनिक गर्ने र सोही सहमतिमा विद्यार्थी संगठनहरुसँग बैठक बसेर ताला खुलाउने सहमति भएको छ । ‘स्ववियुलाई यथार्थ विवरण प्रस्तुत गराउन लगाउने र सबैले आआफ्नो संगठनमा पहल गर्ने सहमति भयो,’प्रमुख राईले भने ।

दलका नेताहरुसँग सहमति भएपछि क्याम्पस प्रमुखले स्ववियु र विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग बैठक बोलाएका छन् । अहिले स्ववियु र संगठनका प्रतिनिधिहरुसँग प्रशासनको बैठक बसिरहेको छ । ‘२ दिनभित्र स्ववियुको हिसाब सार्वजनिक गर्ने सर्तमा आजै विद्यार्थी संगठनसँग बसेर सहमतिमा ताला खोल्ने भनेर हामीसँग समझदारी भयो,’साविक एमालेका सचिव राजमणी निरौलाले भने,‘आजै क्याम्पस प्रमुखले संगठनहरुसँग बसेर सहमतिमा ताला खोल्ने कुरा छ ।’

स्ववियुको हिसाब पारदर्शी नभएको भन्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले सोमबार स्ववियु कार्यालयमा ताला लगाएको थियो । मंगलबार स्वतन्त्र विद्यार्थीहरुको समुह भन्दै विद्यार्थीहरुले ताला तोडिदिएका थिए । त्यसपछि, पुनः अखिल र अखिल क्रान्तिकारीले स्ववियु र क्याम्पस प्रशासनमा पनि तालाबन्दी गरेपछि समस्या झन् चर्केर गएको थियो ।
फागुन २५ गते स्ववियु सभामा प्रस्तुत भएको आर्थिक प्रतिवेदन अस्पष्ट तथा अपारदर्शी भएको भन्दै अनेरास्वयवियु र अनेरास्ववियु क्रान्तकारीले सोमबार दिउँसो स्ववियु कार्यालयमा तालाबन्दी गरेको थियो । विधानत सरोकारवालाहरुलाई पनि उपस्थित गराएर गर्नुपर्ने स्ववियु सभा सुटुक्क गरेको र त्यसमा प्रस्तुत आर्थिक प्रतिवेदन अस्पष्ट र अपारदर्शी भएको ती संगठनको आरोप छ ।

स्ववियु सभामा कुल ११ लाख ७४ हजार २ सय ५२ रुपैयाको आय र ११ लाख ७३ हजार ७ सय ९० रुपैयाको व्यय भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदनमा ६ पटक विद्यार्थीको स्वागत तथा विदाई कार्यक्रम भएको उल्लेख गरिएको छ । जसमा कुल खर्च ४ लाख ४ हजार उल्लेख छ । विद्यार्थी संगठनहरुले यही शिर्षकको कार्यक्रम र खर्चमा बढी आपत्ति जनाइरहेका छन् । यस्तै,टि सर्ट खरीद, फुटबल, बास्केटवल, पार्किङ निर्माणमा देखाइएको खर्चमा पनि विद्यार्थी संगठनहरुले प्रश्न उठाएका छन् । सभापति चेम्जोङले स्ववियुको पुर्ण आर्थिक प्रतिवेदन आउनै बाँकी रहेको बेला अनावश्यक प्रोपगण्डा गरेको बताउदै आएका छन् ।