धरान:महेन्द्र बहुमुखी क्याम्पस धरानको प्रशासन र स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)मा लागेको ताला आज सहमतिमा खुलेको छ ।

क्याम्पस प्रशासनको पहलमा भएको बैठकमा स्ववियु र विद्यार्थी संगठनहरुबीच ३ बुँदे सहमति भएपछि आज क्याम्पस प्रशासन र स्ववियुमा लागेको ताला खुलेको हो । अनेरास्ववियु र अनेरास्ववियुले सहमति पछि ताला खोलिदिएको हो । प्रशासनको पहलमा बिहान सर्वदलीय बैठक भएको थियो भने लगत्तै स्ववियु र विद्यार्थी संगठनहरुसँग प्रशासनले बैठक राखेको थियो । बैठकमा ३ बुँदे सहमति भएपछि संगठनले लगाएको ताला खोलिदिएको अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष सुजन खत्रीले जानकारी दिए । ‘३ बुँदे सहमति भयो, हामीले उठाएको स्ववियुको आर्थिक पारदर्शिताको अजेण्डा पनि सम्बोधन भएको छ,’खत्रीले भने ।

बैठकमा भएको सहमतिको पहिलो बुँदामा स्ववियुले हालसम्म भए गरेका आम्दानी तथा खर्चको आर्थिक प्रतिवेदन तीन दिनभित्र विद्यार्थी संगठनहरुलाई जानकारी गराउने निर्णय भएको छ । यस्तै, दोस्रो बुँदामा क्याम्पस प्रमुखको कार्यकक्ष तथा स्ववियु कार्यालयमा लगाएको ताला खोल्ने सहमति छ भने तेस्रो बुँदामा अखिल र अखिल क्रान्तिकारीले स्ववियुमा लगाएको ताला हिजो दिउँसो तोडिएकोमा स्ववियुले दुःख व्यक्त गर्ने उल्लेख छ ।

54520547_532398163834995_56

बैठकमा क्याम्पस प्रमुख चन्द्रकुमार राई, सहायक क्याम्पस प्रमुखद्धय सुमित्रादेवी रेग्मी, यमनाथ वराल, स्ववियु सभापति सागर सरगम लिम्बू, सचिव दोर्ची शेर्पासहित अनेरास्ववियुका अध्यक्ष सुजन खत्री, नेविसंघका उपाध्यक्ष दिनेश भुजेल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हेमराज राई, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष उदिप लावती,मंगोल विद्यार्थी युनियनका वलबहादुर राई, संघीय विद्यार्थी युनियनका विजय लिम्बूलगायत विद्यार्थी संगठनका प्रतिनिधिहरु सहभागी थिए । त्यसअघि, बिहान क्याम्पस प्रमुख राईले विभिन्न दलका स्थानीय नेतृत्वसँग सर्वदलीय बैठक बसेर सहमति जुटाएका थिए ।

स्ववियुको हिसाब पारदर्शी नभएको भन्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले सोमबार स्ववियु कार्यालयमा ताला लगाएको थियो । मंगलबार स्वतन्त्र विद्यार्थीहरुको समुह भन्दै विद्यार्थीहरुले ताला तोडिदिएका थिए । त्यसपछि, पुनः अखिल र अखिल क्रान्तिकारीले स्ववियु र क्याम्पस प्रशासनमा पनि तालाबन्दी गरेपछि समस्या झन् चर्केर गएको थियो ।

53918410_2202226536761314_6 1 54256034_2202226736761294_3