उदयपुरः उदयपुरको कटारी नगरपालिका ३ स्थित देवीथानमा भेटिएको सुतली बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । आज बिहान आँपको रुखमुनि बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सुतली बम भएको पुष्टि भएपछि नेपाली सेनाको बम डिस्पोजल टोली देवीथान पुगेको थियो । सेनाको वेलसोतस्थित कालिसिद्धि इन्जिनियरिङ गणको टोलीले डिस्पोज गरेको हो । सेनाको टिमले बम डिस्पोज गरेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए । प्रहरी प्रमुख राईका अनुसार बम शक्तिशाली होइन । सर्वसाधारणलाई आतंकित बनाउन राखिएको उनले बताए । आज नेत्रबिक्रम चन्द्र बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेकोले त्रास फैलाउन बम राखिएको सुरक्षा निकायको अनुमान छ ।

प्रहरी प्रमुख राईका अनुसार जिल्लामा मध्यरातीदेखि विष्फोटको आवाजहरु सुनिएको थियो । त्यसैले सुरक्षा सतर्कता कडा बनाइएको उनले बताए । सरकारले विप्लव नेतृत्वको पार्टीको गतिविधिलाई अंकुश लगाएको छ । आज उदयपुरमा बन्दको प्रभाव देखिएको छ । जिल्लामा यातायात, शिक्षण संस्था र नीजि फर्महरू बन्द छन् । तस्बिर: गुगुल