इटहरी: प्रदेश १ को राजधानी कहिले र कहाँ हुने भन्ने बिषयले आम मानिसमा चासोको बिषय बनिरहदा इटहरीमा भने भोली शनिबार प्रदेश राजधानी इटहरीलाई बनाउन मतदान हुने भएको छ ।

प्रदेश राजधानी इटहरीलाई बनाउन लबिङ शुरु गरेको राजधानी सरोकार समाज इटहरीले प्रदेश १ को राजधानी इटहरी बनाउन सांकेतिक मतदान गर्ने भएको हो । शुक्रबार इटहरी उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै समितिले ईटहरीलाई प्रदेश राजधानी बनाउन दबाब सिर्जना गर्ने जानकारी दिएको छ । इटहरीलाई राजधानी बनाउन माग गर्दै समितिले शनिबार बिहान इटहरीको रेयुकाई चौतारीमा सांकेतिकरुप्मा मतदान कार्यक्रम गर्ने समाजका सचिव शैलेश बिष्टले जनाकारी दिए । उनका अनुसार प्रदेश १ को राजधानीका लागि इटहरीमा हरेक दृष्टिकोणले उचित रहेको छ ।

इटहरी उपमहानगरपालिकाका नेपाली कांग्रेस सभापति हेमकर्ण पौडेलले इटहरीमा बलियो नेतृत्व नभएका कारण प्रदेश राजधानी अन्यौलमा परेको बताए । उनले भने, ‘पार्टीको ह्वीप बिरुद्ध इटहरी राजधानी बनाउने सबालमा लागेको छ, इटहरीको दुर्भाग्य नेतृत्व नहुनु हो,’उनले भने । नागरिक तबरबाट पहल हुनु स्वभाबिक रहेको बताउँदै उनले हरेक दृष्टिकोणबाट इटहरी प्रदेशको राजधानी हुनुपर्ने बताए । त्यस्तै, नेकपाका नेता रामप्रसाद चौलागाईँले पनि इटहरी नै प्रदेशको राजधानी उपयुक्त रहेको बताए । उनले भने, ‘बोर्डर छेउमा प्रदेशको राजधानी हामीलाई मान्य हुनेछैन, कुनै पनि हालतमा प्रदेशको राजधानी इटहरी नै हुनुपर्छ ।’

pradesh

इटहरी उपमहानगरपाकिलाका बिज्ञ सल्लाहकार डा. दिवाकर रेग्मीका अनुसार राजधानीको बिषय भावनात्मक नभई ब्यबहारिक रहेकोले सबैले सचेत हुनुपर्छ । ‘राजधानीको बिषय भावनात्मक बिषय होईन, यो कहाँ जान्छ, त्यो व्यबहारिक कुरा हो,’उनले भने । उनले भागबन्डाका आधारमा राजधानी हुन नहुने बताए । इटहरीको पक्षमा प्रदेश १ का धेरैजसो जनताहरु एकताबद्ध भएको दाबी गर्दै उनले इटहरी राजधानी हुनका लागि इटहरी मात्रै तातेर नहुने बताए । ‘बिराटनगर राजधानी हुनै सक्दैन, आज भयो भने पनि २० बर्ष पछि परिवर्तन हुनैपर्छ, किनभने त्यो बोर्डर सिटी हो,’रेग्मीले भने । राजधानी सरोकार समाज इटहरीका संयोजक तथा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकालाल चौधरीले आफुहरुले लोकतान्त्रिका बिधिलाई मान्ने भएकाले बैधानिक संघर्षलाई बढी महत्व दिएको बताए । उनले इटहरी सबै ठाउँले उपयुक्त भएकाले यहिँ राजधानी हुनुपर्नेमा जोड दिए ।