धरान: नेपाली कांग्रेस, धरान उपमहानगर समितिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाहिरी हस्तक्षेप, राजनैतिक प्रतिशोध र कसैको व्यक्तिगत स्वार्थले संस्था धरासायी हुदै गएको भन्दै चिन्ता प्रकट गरेको छ ।

प्रतिष्ठानका उपकुलपतिलाई पदबाट बर्खास्त गर्ने सिनेटको निर्णय कार्यान्वयन भएको केही दिनपछि आज प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेसले यस्तो धारणा व्यक्त गरेको हो । कांग्रेसका सचिव श्याम पोख्रेलले हस्तक्षरित विज्ञप्तीमा जिम्मेवारी प्रदान गरिएको व्यक्तिको कार्यक्षमतालाई मुल्यांकन नै नगरी प्रतिशोधको भावनाले असफल बनाउने प्रवृत्तिले संस्था नै रहने कि नरहने भन्ने शंका उत्पन्न भइरहेको उल्लेख छ । विज्ञप्तीमा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको छानबिन समितिमा प्रतिष्ठानकै पदाधिकारी सदस्य राखेर छानबिन गरिएको बिषयमा पनि कांग्रेसले असन्तुष्टी जनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘प्रतिष्ठानको व्यवस्थापकीय भुमिका निर्वाह गरिरहेकै पदाधिकारीहरुको समिति निर्माण गरी प्रतिष्ठान नेतृत्वलाई अवमुल्यांकन गर्ने नजिर र प्रकृयागत त्रुटी, पुर्वाग्रही मानसिकताबाट नेतृत्वलाई विस्थापित गर्ने किसिमको मानसिकताले सिंगो प्रतिष्ठान, नगरबासीहरु र कर्मचारीहरुलाई विभाजन उन्मुख गराएको छ । यस्तो मानसिकता र प्रवृत्तिको कांग्रेस घोर भत्र्सना गर्दछ ।’ प्रतिष्ठानभित्र भइरहने खिचातानीको प्रवृत्ति सदाको लागि अन्त्य गर्न र त्यसभित्रका पदाधिकारी, डाक्टर, नर्स र सबै तहका कर्मचारीहरुलाई आफुभन्दा माथि प्रतिष्ठानलाई राखेर बाहिरी तत्वबाट हुने चलखेलविरुद्ध एकजुट भएर लड्न पनि कांग्रेसले आग्रह गरेको छ ।

press-congress

‘सधै चुस्त व्यवस्थापन, अध्ययन र अध्यापनको वातावरणको साथै सेवाग्राहीप्रति उत्तरदायी हुन नेपाली कांग्रेस अनुरोध र आग्रह गर्दै,’विज्ञप्तीमा भनिएको छ,‘यस प्रतिष्ठानलाई आफ्नो स्वार्थपुर्ति गर्ने बाहिरी वा भित्री त्तत्वहरुको नेपाली कांग्रेस कडा निगरानी राख्दै सबैखाले विकृतिको डटेर सामाना गर्न समेत तयार छ ।’ यसैगरि, कांग्रेसले नगरबासीलाई दिनुपर्ने अध्ययन कोटा र अन्य सुविधाहरुको ग्यारेन्टी गर्न विभिन्न समयमा माग गर्दै आएको स्मरण गराउदै यसलाई चाडो कार्यान्वयनमा ल्याउन पनि माग गरेको छ ।