इनरुवा:सनसरीमा यसपाली एसईई परीक्षाको लागि ४७ वटा परीक्षाकेन्द्र निरधारण गरिएको छ । विगतमा ४५ वटा परीक्षा केन्द्र रहेकोमा यसपाली एसईई नियमित तर्फका परीक्षार्थीका लागि ४७ वटा परीक्षाकेन्द्र निरधारण गरिएको हो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सुनसरीले १२ हजार ५ सय ४९ परीक्षार्थीले एसईई परीक्षा दिन लागेको जनाएको छ । परीक्षार्थीको संख्या र विद्यालयदेखि परीक्षा केन्द्रको दुरीका आधारमा पायक पर्ने ठाउँहरुमा केन्द्र निरधारण गरेको शिक्षा विकास ईकाई प्रमुख गोविन्द पोखरेलले जानकारी दिए । सुनसरीको धरानदेखी देवनगञ्जसम्ममा १२ स्थानीय तहमा परीक्षार्थीको संख्याका आधारमा एसईई परीक्षा केन्द्र निरधारण गरिएको इकाईले जनाएको छ ।

इकाईले माध्यमिक शिक्षा परीक्षालाई मयार्दित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सम्पन्न गर्न शिक्षा ऐन, २०२८ (संशोधन सहित), शिक्षा नियमावली २०५९ (संशोधन सहित), एसइइ परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्दे्शिका, २०६८ (संशोधनसहित) लगायत अन्य प्रचलित नियम, ऐन–कानुन, नीतिगत व्यवस्था एवम् निर्देशनहरूको अनिवार्य रूपमा पालना गर्ने गराउने सन्दर्भमा परीक्षासंग सम्बन्धित सवै सरोकारवालाहरुका लागि लागु हुनेगरी आचार–संहिता समेत निर्माण गरिएको जनाएको छ ।

यस्तो हुनेछ आचारसंहिता

परीक्षार्थीहरूले परीक्षाको समयमा अनिवार्य रूपमा प्रवेशपत्र साथमा राख्ने तथा प्रवेशपत्रमा उल्लिखित निर्देशनहरू तथा एसइई परीक्षा संचालन तथा व्यवस्थापन निदेर्शिकामा भएका परीक्षार्थीले पालन गर्नुपर्ने आचारसंहिता तयार गरिने भएको छ । यस्तै,प्रवेशपत्र बिना परीक्षामा नबस्ने र नबसाउने, परीक्षार्थीहरू अनुशासित एवम् मयार्दित रूपमा परीक्षा हलमा उपस्थित हुनुपर्ने अन्यथा परीक्षाबाट निष्काशित गर्न सकिने पनि नियम बनाइनेछ । यस्तै, परीक्षामा शान्तपूर्वक सहभागी हुने एवम् कुनै पनि किसिमको होहल्ला, गफ, छलफल गर्न नहुने अचार सहिता बनाउने भएको छ ।

निस्कासनमा परेको बाहेक सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारी (परिचर) परीक्षा अवधिभर परिवर्तन गर्न नपाइने, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीहरूले स्पष्ट रूपले देखिने गरी परिचय–पत्र अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गर्ने र केन्द्राध्यक्षले एउटै निरीक्षकलाई दिनदिनै दोहो¥याएर एउटै कक्षामा नराख्ने लगायतका अचारसंहिता बनाउने भएको छ ।