पथरी: दाताले सहयोग गर्न छाडे पछि पुर्वी मोरङ र झापामा बसोबास गर्दै आएका भुटानी शरणार्थीले आफूहरु समस्यामा परेको बताएका छन ।

दुई दशकदेखि पथरी शनिश्चरे र दमक बेलडागीमा बसोबास गर्दै आएका उनिहरुले निःशुल्क कानुनी सहायतासहित अन्य सहयोगको माग गरेका हुन् । भूटानी शरणार्थी महिला मञ्चले मंगलबार आयोजना गरेको ‘यौन तथा लैगिंकतामा आधारित हिंसा अन्त्य सम्वन्धि अन्तरक्रियामा उनीहरुले यस्तो माग गरेका हुन् । भुटानी शरणार्थीलाई तेस्रो देश पुर्नस्थापना गर्न सुरु गरेसंगै दाताहरुले उनीहरुको सुबिधा कटौती गर्दै आएका थिए ।तेस्रो देश पुनर्स्थापना नभइ थोरै संख्यामा रहेका उनीहरुलाई सहयोग गर्न स्थानिय सरकारसँग माग गरेका हुन ।

आयोजक मञ्चकी कार्यक्रम व्यवस्थापक सनमति सुब्बाले दातृनिकायले पनि हरेक प्रकारको सहायता दिन छाडेपछि आफुहरु समस्यामा परेको बताइन् । उनले महिला हिंसाका सवालमा निःशुल्क कानूनी सहायता र निःशुल्क स्वास्थ्य उपचारको मुख्य समस्या रहेको उल्लेख गरिन् । कार्यक्रममा बोल्दै पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आफ्नो नगरमा बसोवास गर्ने शरणार्थीहरुका लागि मानवीय हिसावले नगरपालिकामा उपलब्ध कानूनी र स्वास्थ्य उपचारको निःशुल्क सेवा प्रदान गर्ने बताइन । साथै सीपमुलक सहितका तालिम समेत प्रदान गर्ने उनको भनाई थियो ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईंले शरणार्थीसहितका असहाय अवस्थाका नागरिकका लागि आफुहरुले कानूनी उपचारका लागि सहयोग पुर्याउने बताए । कार्यक्रममा, शिविर सचिव चम्पासिंह राईले दाताहरुले सहयोग कटौती गरेपछि खान, वस्न सहितका विविध समस्या शिविरमा रहेको बताएका थिए ।