धरानः५४ औं वर्ष अघिदेखि हरेक वर्षको मार्च २१ का दिन विश्वभर मनाईदै आएको अन्तर्राष्ट्रिय जातीय विभेद (रंगभेद) उन्मूलन दिवस विहीबार धरानमा पनि प्रभातफेरी र अन्तक्र्रिया कार्यक्रम गरि मनाइएको छ ।

१ नम्बर प्रदेश सांसद उमिता विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा धरानका अग्रज दलित नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बिहान ७ बजे धरानको घण्टाघर परिसरमा भेला भएका दलित अगुवाहरुले महेन्द्रपथ–छाताचौक–चतरालाईन हुँदै धरान उपमहानगरपालिकासम्म प्रभातफेरी गरेका थिए । प्रभातफेरीमा ‘जातीय भेदभाव अन्त्य गरौं’, ‘छूवाछूत र भेदभाव गर्न पाइदैन’, ‘संसारका उत्पीडित जातिहरु एक होऔं’ ‘मानव–मानव एकै हौं’, ‘जातीय, रंगभेद र अन्य सबैखाले विभेद बन्द गर’लगायत विभिन्न नारा तथा सन्देश भएको ब्यानर, प्लेकार्ड पनि बोकिएको थियो ।

प्रभातफेरी पश्चात् धरान उपमहानगरपालिकाको कर्मचारी एशोसिएशन हलमा अन्तक्र्रिया कार्यक्रम भएको थियो । धरान नगर कार्यपालिका सदस्य तथा दलित विकास समितिका संयोजक किशोर परियारको अध्यक्षतामा भएको कार्यक्रममा एक नम्बर प्रदेश सांसद उमिता विश्वकर्माले प्रमुख अतिथिका रुपमा सम्बोधन गरेकी थिइन् । उनले दक्षिण अफ्रिकामा गोराहरुले कालाहरु माथि रंगभेद गरेको जस्तै नेपालमा पनि कथित उपल्ला जातकाले दलितहरु माथि थिचोमिचो र अन्याय अत्याचार जारी राखेको बताइन् ।

dalit1

उनले कर्मचारीतन्त्र दलितहरुप्रति सकरात्मक देखिएको भन्दै आफुले दलितका सवालमा प्रदेशसभामा कुरा उठाउन खोज्दा कर्मचारीहरुले नामसमेत दर्ता नगरिदिएको बताइन् । उनले दलित समुदायले स्थानीय रुपमा सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिइन् । त्यसैगरी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) १ नम्बर प्रदेश सदस्य डिबी साह शंकरले नेपालमा सरकारी स्तरबाटै अन्तर्राष्ट्रिय जातीय विभेद (रंगभेद) उन्मूलन दिवस मनाउनु पर्नेमा जोडदिए । उनले दलितहरुले हरेक राजनीतिक दलमा आफ्नो समुदायको सम्मानजनक हैसियत खोज्नुपर्नेमा जोडदिए ।

अन्तक्र्रिया कार्यक्रममा दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य दिपेश ल्वागुनले अन्तर्राष्ट्रिय दिवस मनाउन आवश्यक नभएको भन्दै राष्ट्रिय दिवस मनाउनुपर्ने बताए । दलित सेवा संघका केन्द्रीय सल्लाहकार रमेश गजमेरले राम्रो काम गर्नेलाई बोक्ने र नराम्रो काम गर्नेलाई ठोक्ने बताए । दलितहरुले आन्दोलनबाट प्राप्त गरेको अधिकारसमेत खोसिन थालेको र विभेद बढ्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै दलितहरु एकजुट भएर अधिकार स्थापनाका लागि अझै संघर्ष गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विश्वकर्मा समाज नेपाल एक नम्बर प्रदेश अध्यक्ष लालबहादुर सेन्चूरी, परियार सेवा समाजका केन्द्रीय उपाध्यक्ष लक्ष्मण दास, १ नम्बर प्रदेश इसाई समाजका महासचिव मेहरमान ह्यूज, पत्रकार लम्जेल संघर्षशील, विश्वकर्मा कल्याण सेवा समितिका उपाध्यक्ष खड्कबहादुर कोइरालालगायतले पनि मन्तव्य राखेका थिए । दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रम धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५।७६ को लक्षित वर्ग अन्तर्गतको दलित विकास कार्यक्रमको दिवस मनाउने शीर्षकबाट २० हजार खर्च हुनेगरी आयोजना गरिएको हो । समितिले आगमी जेष्ठ २१ गते छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिनलाई धरानको भानुचौकमा खुल्लासभाको आयोजना गरी मनाउने तयारी भएको सदस्य सचिव लामगादेले जानकारी दिए ।