काठमाण्डौँ : नेत्रविक्रम चन्द विप्लव समूहका मध्य क्षेत्रीय कमाण्ड सम्हालेका हेमन्तप्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति काभ्रेको खानीखोला गाउँपालिका-३ क्षेत्रबाट ओलीसहित अन्य ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ओलीसहित चन्द समूहका ललितपुर इन्चार्ज शंकर अधिकारी, एक गाडी चालक, धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, ललित तामाङ, विजय श्रेष्ठ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का सहितका कार्यकर्ता पक्राउ परेका हुन् ।

स्रोतका अनुसार  काभ्रेको काफल डाँडाबाट भागेर अर्कै स्थानमा पुगेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे, महानगरीय प्रहरी अपराध महाशाखा, प्रहरीको विशेष ब्यूरोको टोली परिचालन भएको थियो । प्रहरी त्यहाँ नपुग्दै गाडी चढेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । गत मंगलबार काभ्रेको काफल डाँडामा प्रहरी र चन्द समूहबीच गोली हानाहान भएको थियो ।

त्यसयता प्रहरी उनको खोजीमा लागेको थियो । प्रहरीले उनलाई राज्य विद्रोहको मुद्दा चलाउने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ । गत महिना ललितपुरको नख्खुस्थित एनसेल गेटमा भएको विष्फोटमा ओलीलाई मुख्य योजनाकार मानिएको छ ।