धरान: विपन्न तथा स्वास्थ्य पहुँच नभएका महिलाहरुलाई लक्षित गर्दै शनिबार धरान उपमहानगरपालिका वडा नं ८ मा स्त्री रोग सम्बन्धी एक दिने शिविर सम्पन्न भएको छ ।

वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरुको आर्थिक, सामाजिक तथा राजनैनिक क्षमता अभिवृद्धिमा सक्रिय सामना नेपालको आयोजना तथा ८ नं वडा कार्यालयको सहयोगमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो । वडा कार्यालय परिसरमा आयोजित स्वास्थ्य शिविरबाट १ सय ५० जना महिलाहरुले प्रत्यक्ष लाभ पाएको अध्यक्ष चेतना सेरङले जानकारी दिइन् । महिलाहरुमा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले पनि शिविर आयोजना गरिएको उनले बताइन् । स्वास्थ्य जाँच भएकामध्ये अधिकाश महिलाहरुलाई पाठेघरको समस्या देखिएको थियो । 

samana-health-camp31

शिविरमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा.अजय अग्रवाल, डा.सेलीसा उप्रेतीले स्वास्थ्य जाँच गरेका थिए भने प्रावधिक सहयोग पुतलीलाईनस्थित मन्जुश्री पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरको रहेको थियो । शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि तथा वडा नं ८ का वडा सदस्य राम थापाले आफ्नो वडामा महिलाहरुको संख्या धेरै भएको र उपचारको पँहुचबाट पनि बाहिर रहेको बताए । ‘त्यही भएर हामीले आगामी बर्ष स्वास्थ्य शिविरको लागि आवश्यक बजेट छुट्याउने योजना बनाएका छौ,महिलाहरुलाई धेरै भन्दा धेरै स्वास्थ्य पहुँच पुर्याउनुपर्छ,’उनले भने ।

कार्यक्रममा विशेष अतिथि रहेकी महिला संजाल धरान उपमहानगर समितिका अध्यक्ष सबिता राईले महिलाहरु लाज र डरले शरीरमा रोग लुकाएर बस्ने र रोग जटिल भएर थला परेपछि मात्र उपचार गर्न पुग्ने भएकोले सचेतनासँगै स्वास्थ्य पहुँच कार्यक्रम आवश्य भएको बताइन् । महिला स्वास्थ्य र सचेत भए मात्र परिवार स्वास्थ्य रहने उनले बताइन् । डा. अग्रवालले शिविरमा चेकजाँच भए पछि आवश्यक परेमा फलोअपको लागि वीपी प्रतिष्ठानमा बोलाउन बताए ।

samana-health-camp,7 1

कार्यक्रममा कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य सावित्री परियार, प्रा.डा अजय अग्रवाल, डा.सेलीसा उप्रेती, मन्जुश्री पोलिक्लिनिक एण्ड डायग्नोष्टिकका निर्देशक विकास खड्का पनि अतिथि रहेका थिए । सामान्य विरामीहरुलाई मन्जुश्री पोलिक्लिनक एण्ड डायग्नोष्टिक सेन्टरले नै औषधी वितरण गरेको थियो भने अन्यलाई थप उपचारको लागि वीपी प्रतिष्ठान रिफर गरिएको सामना अध्यक्ष सेरेङले बताइन् । उद्घाटन कार्यक्रम समाना नेपालका सचिव शारदा मास्केले संचालन गरेकी थिइन् ।

तस्बिर सौजन्य: सविता राई