धरान(डेस्क): नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कोशी ब्युरो संयोजक रहेका पुस्कर अर्थात घनश्याम श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसारलाई उनलाई पुर्व क्षेत्रबाट नै आइतबार राती पक्राउ गरिएको हो । काठमाण्डौंस्थित मिर्मिरे एफएमका पुर्वअध्यक्षसमेत रहेका श्रेष्ठलाई प्रहरीले आज सार्वजनिक गर्ने बताइएको छ । उनी द्धन्दकालमा तत्कालीन माओवादीका ब्युरो सदस्य थिए । सरकारले विप्लवको गतिविधि हिंसात्मक भएको भन्दै प्रतिबन्ध लगाएको छ भने नेता, कार्यकर्तहरु उच्च निगरानीमा छन् ।

विप्लव नेतृत्वको नेकपाप्रति आक्रमक बन्दै सरकारले उच्च नेता, कार्यकताहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । शुक्रबार राति काभ्रेबाट तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको थियो । केही समयअघि राजधानीमा एक जनाको ज्यान जाने गरी भएको विष्फोटको घटना र अन्य क्षेत्रमा पनि भएका विष्फोटको घटनापछि सरकार चन्द नेतृत्वको नेकपाप्रति कठोर बनेको छ । प्रहरीले पनि चन्द नेतृत्वको पार्टीको गतिविधिहरुलाई सुक्ष्म अध्ययन गरिरहेको छ ।

तस्बिर: नेपाल कम्युनिष्ट पार्टीको प्रमुख नेता नेत्रबिक्रम चन्द 'विप्लव'