पथरी:नेपाली काग्रेस पथरी नगरले विभिन्न १२ बुँदे माग राख्दै पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईलाई ज्ञापन पत्र बुझाएको छ ।

जनताको सरोकारसँग जोडिएको बिकाश निर्माणमा अनियमितता भएको जनगुनासो आएसँगै सर्बपक्षिय समिति गठन गर्न माग गदै कांग्रेसले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा काग्रेस नगर सभापति टेक बहादुर थापा र कांग्रेसको नगर अनुगमन उप संयोजक धनकुमार तामाङले हस्ताक्षर गरेका छन् । ज्ञापन पत्रमा बिकाश निर्माणमा नेकपा निकटलाई नदिन र उपभोक्ता समिति मार्फत मात्रै काम गराउन माग गरिएको छ । जनप्रतिनिधीले आफ्ना कार्यकर्ता पोस्न बिकास निर्माणका कार्य ठेकेदार मार्फत गरेको र कमिशन असुलेको आरोप काग्रेसले लगाएको छ ।

कर्मचारी नियुक्ती एकलौटी रुपमा गरिएको भन्दै सर्बपक्षिय रुपमा नगरमा कर्मचारी नियुक्ती गर्न पनि कांग्रेसको माग छ । नगरबाट फोहर मैलाका लागि रकम संकलन गरे पनि टोल र गाउँबाट फोहर संकलन नभएको भन्दै कांग्रेसले त्यसका लागि संकलन गरिने रकम जनतासँग नलिन माग गरेको छ । नगरमा रहेको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या तत्काल सम्बोधन गरि धनिपुर्जा बितरणको पनि माग कांग्रेसले गरेको छ । ज्ञापनपत्र मार्फत नगर तथा वडा कार्यालय अपांग मैत्री भवन निर्माण गर्न माग गरेको छ ।

नगरपालिका भवन निर्माणमा बिबाद भएको भन्दै नगरको पहिचानसहित तत्काल नगरपालिकाको भवन निर्माण गर्न पनि कांग्रेसले माग गरेको छ । नगरपालिकाले नगरबासीसँग चर्को कर संकलन गरेको भन्दै कर व्यावस्थापन वा कर खारेजीको माग गरेको छ । नगरले मेलमिलापका नाममा निवेदन बापत लिने १०० रुपयाँ खारेजी गर्नुपर्ने, नगरका खोला दोहन गर्ने कार्य तुरुन्त बन्द गर्नुपर्ने, आगलागी नियन्त्रण गर्न तुरुन्त दमकल खरिद गर्नुपर्ने पनि कांग्रेसले माग गरेको छ ।
पथरीमा नगरकार्यपालीकामा नेकपाको बहुमत रहेको छ । नगरको ५ र ८ नं वडामा मात्र प्यानलनै काग्रेसका जनप्रतिनिधी छन् भने ६ र १० नं वडामा अध्यक्ष काग्रेसका रहेका छ्न् ।