मोरङ: प्राध्यापक, शिक्षकले दोहोरो सुविधा लिएको विवाद चर्किदै गएपछि मोरङको सुन्दरहरैचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसको पठनपाठन प्रभावित भएको छ ।

क्याम्पसमा तनावको अवस्थ बढ्दै गएपछि क्याम्पस प्रशासनले नै सुचना निकालेर हिजो र आज पठनपाठन बन्द गराएको हो । दोहोरो सुविधा लिने शिक्षकहरुले राजिनामा दिनुपर्ने माग गर्दै नेवि संघ आन्दोलनमा छ । अन्दोलनकै क्रममा नेविसंघका विद्यार्थीमाथि अनेरास्ववियुले आक्रमण गरेपछि केही दिनदेखि सुकुना क्याम्पस तनावग्रस्त छ । आज पनि बिहानैदेखि नेवि संघले र्याली र क्याम्पसको मुलगेटअघि प्रर्दशनसँगै कोणसभा गरेको थियो । बिराटचौकबाट निस्केको र्याली क्याम्पस मुलगेटसम्म पुगेको थियो ।

विगत तीन दिनदेखि नेविसंघ आन्दोलनमा छ । संघले क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठसहित १३ जना प्राध्यापकहरुले दोहोरो सुबिधा लिएको भन्दै राजिनामाको माग गरेको छ । यस्तै, शान्तिपुर्ण आन्दोलनमा उत्रिएका नेबिसंघका नेता कार्यकर्तामाथि बुधबार अखिलका कार्यकर्ताहरुले आक्रमण गरेको भन्दै घटनामा संलग्नहरुलाई कारबाही गर्नुपर्ने माग नेविसंघको छ । क्याम्पस प्रमुख सहितको निर्देशनमा बिद्यार्थीमाथी कुटपिट भएको नेबिसंघको आरोप छ ।

sukuna-police

नेबिसंघले विद्यार्थी, नेता कार्यकर्तामाथि आक्रमण गर्नेहरुको नाम किटान गरेर जाहेरी दिएको थियो । तर, इलाका प्रहरी कार्यालय बेलबारीले लिन नमानेको क्षेत्रीय सभापति होमनाथ पोख्रेलले बताए । माग पुरा नभएसम्म आन्दोलन निरन्तर चल्ने उनले बताए । 'क्याम्पसको पठनपाठन प्रशासनले नै सुचना निकालेर बन्द गराएको हो,'उनले भने । क्याम्पसमा सुरक्षार्थी ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

फोटो खिच्ने कुटिए

आज नेवि संघको र्याली र प्रर्दशनको फोटो खिच्ने एक जना विद्यार्थी कुटिएका छन् । ती विद्यार्थी अनेरास्ववियुको भएको बताइएको छ । अनेरास्ववियुले घाइते विद्यार्थीलाई नेवि संघले कुटपिट गरेको आरोप लगाएको छ । तर, नेवि संघ सभापति होमना पोख्रेलले भने सम्झाएर पठाएको तर कुटपिट भने नगरेको बताए । 'हाम्रो फोटो खिच्दै थियो, हामीले नै नखिच्न भनेर पठाएका थियौ,'उनले भने,'पछि कस्ले कता कुट्यो रे, मेरो नाम जोडेको छ । तर हामीले होइन ।'