काठमाण्डौ: दिनहुँजसो प्रश्नपत्र बाहिरिएपछि प्रदेश नं. २ का आठ जिल्लामा एसइईको बाँकी रहेको सबै परीक्षा स्थगित गरिएको छ ।

संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणी पोखरेलले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर प्रदेश २ मा बाँकी रहेका सबै बिषयको परीक्षा स्थगित गरिएको जानकारी दिएका हुन् । चैत १० गतेदेखि १३ गतेसम्म भएको परीक्षा भने रद्द नहुने पनि उनले स्पष्ट जनाए । यसअघि, रोकिएको विज्ञान बिषयको परीक्षा पुनः चैत २२ गते लिइने भएको छ भने बाँकी बिषयको परीक्षाको तालिका पछि सार्वजनिक गरिने पनि मन्त्री पोखरेलले जानकारी दिए ।

यो बर्षदेखि प्रदेश प्रदेशमा प्रश्नपत्र अलग अलग तयार गरिएको छ । त्यसैले अन्य ६ प्रदेशमा भने परीक्षा पुर्वतालिका अनुसार नै सञ्चालन हुने मन्त्रालयले जनाएको छ । प्रदेश २ मा बिहिबार हुने भनिएको विज्ञान बिषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएपनि परीक्षा रद्द गरिएको थियो । शुक्रबार पनि परीक्षा हुनु अगावै सामाजिक बिषयको प्रश्नपत्र सार्वजनिक भएको थियो । त्यसपछि भने संघीय सरकार पनि गम्भीर भएको थियो । घटनाबारे प्रदेश सरकारले पनि छानबिन गरिरहेको छ ।

विद्यार्थीहरुले निकाले जुलुस

एसइई परीक्षा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरुले शुक्रबार प्रदेश २ को विभिन्न स्थानमा जुलुश तथा प्रर्दशन गरेका छन् । आक्रोशित विद्यार्थीहरुले सरकारविरुद्ध र्याली निकाल्दै चक्काजाम, जुलुस र तोडफोडसमेत गरे । विद्यार्थीहरुले सरकारले आफुहरुको भविष्यमाथि खेलवाड गरेको आरोप लगाए । सयौंको संख्यामा सडकमा आएका विद्यार्थीहरुले टायरसमेत बालेका थिए । प्रहरीले विरगञ्जमा अश्रुग्याँसमेत प्रहार गर्नुपरेको थियो ।