विराटनगर:प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनबाट नेपालले ऐतिहासिक उपलब्धी हाँसिल गरेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले लगानी सम्मेलन ऐतिहासिक पुर्ण रुपमा सफल भएको दाबी गर्दै अब सरकारले योजनाहरु बनाएर अघि बढ्ने पनि खुलाए । लगानी सम्मेलनबारे कसैले प्रतिवद्धता एवं सहभागिताको बिषयमा प्रश्न गरेमा त्यो गाह्रो बिषय भएको प्रधानमन्त्री ओलीको भनाई थियो । 'विश्व बैंक, एसियाली विकास बैंक, भारत, चिन, क्यानडा, युरोप, अरब, मलेसिया ईण्डोनेसिया लगायत देशहरु बोलाएर लगानी सम्मेलन गरेका छौ, अब यस्तो सम्मेलनलाई पनि प्रतिबद्धता पुगेन भनिन्छ भने त्यसबिषयमा बोल्न गाह्रो हुन्छ,'प्रधानमन्त्री ओलीले भने ।

देश विकासमा तिब्र गतिमा लागिपरेको भन्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलनबारे गलतरुपमा तर्कवितर्क, तथ्य र बहसको खाँचो नभएको बताए । सरकारले पहिलो एक बर्षलाई आधार बर्ष मानेर काम गरिरहेको ओलीको भनाई थियो । पहिलो बर्षको २०७५ चैत मसान्तसम्म संरचना, कानुन बनाउने तथा असहजलाई सहज बनाउने बर्ष भएको प्रधानमन्त्री ओलीको भनाई थियो । 'अब नेपालले विकासको गति लिन्छ, कार्यान्वयनको गतिमा अघि बढ्छ, त्यसो भन्न कसैले अफ्ठ्यारो नमाने हुन्छ,' उनले भने ।

नेत्रबिक्रम चन्द विप्लवको पार्टी समुहकोरुपमा भएको प्रतिक्रिया दिदै प्रधानमन्त्री ओलीले विप्लव समुह कहीँ कतै औपचारिकरुपमा राजनीतिक दलकोरुपमा दर्ता नभएको बताए । सबै समुहहरु र गिरोहहरु पार्टी नहुने धारणा राख्दै ओलीले राजनीतिक गतिविधिमा नभएको र निर्वाचनमा पनि भाग नलिएकोले विप्लव वैधानिक पार्टी नभएको बताए । सरकारले प्रतिबन्ध लगाएको विप्लवको कार्यकर्ताहरुलाई अदालतले छोडेको सन्दर्भमा प्रधानमन्त्री ओलीले प्रमाण नपुग्दा अदालतले कसैलाई छोड्नु कानुनी प्रक्रियाभित्रकै कुरा भएको बताएका थिए ।