भद्रपुर:झापाको दक्षिणी नाका कचनकवलबाट अवैधरूपमा नेपाल भित्र्याइएको रु २२ लाख ३० हजार मूल्य बराबरको १४ कार्टुन भारतीय औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, झापाको बाह्रदशी गाउँपालिका–४ बस्ने २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इम्तियाज आलम र २८ वर्षीय ताहिर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उनीहरुलाई मे १ च ४०६३ नं को मारुति भेन, भारतीय नम्बर प्लेट बीआर ३७ जी १४४० को मोटरसाइकल र मे ६ प १०१६ नम्बरको नेपाली मोटरसाइकलमा औषधि लुकाइछिपाई भारतबाट ल्याउँदै गरेको अवस्थामा कचनकवल गाउँपालिका–१ स्थित अस्थायी प्रहरीचौकीबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा शनिबार पक्राउ गरेको थियो ।

बरामद गरिएको औषधिमा ब्रेस्टिम आयल तेल ७९९ बट्टा, ओर्लिम्याक्स ३१० क्याप्सुल उल्लेखित भएको पाँच कार्टुन, फ्लोमिस्ट नासल स्प्रे दुई कार्टुन, केयरप्रोस्ट नाम उल्लेखित रहेको दुई कार्टुन, एमएग्रा उल्लेखित एक हजार बट्टा र जुरिक उल्लेखित एक कार्टुनमा रहेको ४०५ बट्टा फोरडम उल्लेखित एक हजार २०० बट्टालगायत रहेको छ । सो सामानको मूल्य रु २२ लाख ३० हजार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । बरामद गरिएको अधिकांश औषधि यौन उत्तेजना बढाउन प्रयोग गरिने किसिमको रहेको छ । मुख्य अभियुक्त फुन्चोक लामाले सो सामान काठमाडौँ लैजान लागेको प्रहरीले जनाएको छ ।

बरामद औषधि आजै औषधि व्यवस्था विभागको कार्यालय विराटनगर पठाइने उनले बताए । पक्राउ गरिएका चारै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर कानूनी कारवाहीका लागि अनुसन्धान भइरहेको उपरीक्षक मैनालीले बताए । सोही अवसरमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएका लत्ताकपडा, भाडा वर्तनलगायतका रु सात लाख ७८ हजार बराबरका सामग्री पक्राउ गरिएको जानकारी दिएको छ । ती सामग्री आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । प्रहरीले मेचीनगर, भद्रपुर नगरपालिकालगायतका विभिन्न स्थानबाट बरामद भएको तीन सय लिटर घरेलु मदिरा समेत आज नष्ट गरेको छ ।