धरान:संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन हुनैपर्ने पार्टीको अडान दोहोर्याएका छन् ।

नेकपा नेतृत्वको सरकारमा गएपछि आफ्नो प्रमुख एजेण्डा बिर्सिएको आरोप लागिरहदा फोरम वरिष्ठ नेता राईले भने विभेदरहित लोकतन्त्र कायम गराउन संविधान संशोधन आवश्यक भएको धारणा राखे । नेता राईले आज आइतबार दोस्रो धरान नगर अधिवेशनको उद्घाटन सत्रमा संविधान संशोधन हुने सर्तमा मात्र पार्टी सरकारमा गएको पनि पुनः आफ्ना नेता, कार्यकर्ताहरुलाई स्मरण गराए । 'समृद्ध नेपाल, सुखी नेपाली हुनलाई विभेदरहित लोकतन्त्र हुनुपर्छ, यसको लागि संविधान संशोधन आवश्यक छ,' नेता राईले भने,'संविधान संशोधन गर्ने सर्तमा नै पार्टी सरकारमा गएको हो ।'

वर्तमान संविधानले विभेद गरेको जिकिर गर्दै नेता राईले पहिचानसहितको संघीयता हुनुको विकल्प नभएको धारणा राखे । समाजवादलाई भिन्न आयामबाट लैजानुपर्ने भन्दै उनले लैंगिक,जातिय, वर्गीय विभेद र उत्पीडनको अन्त्य हुनैपर्ने बताए । पार्टीको मुल एजेन्डा पहिचानसहितको संघीयता, समानुपातिक,समाबेशी,विभेद रहित लोकतन्त्र,धर्म निरपेक्ष रहेको पनि नेत राईले प्रष्ट्याउदै स्थापना गरेरै छाड्ने बताए।

सोही कार्यक्रममा पार्टी उपाध्यक्ष रकम चेम्जोङले पहिचानबादी शक्तिलाई एक बनाउन वार्ता समिति गठन भएको जानकारी दिए । साथै, उनले नयाँ शक्ति, राजपा, जनमुक्ति पार्टी लगायतसँग वार्ता भैरहेको पनि खुलाए । नेकपालाई राष्ट्रघातीको संज्ञा दिदै उनले सिके राउतसँग गरिएको ११ बुँदे सहमति पनि रास्ट्रघाती भएको आरोप लगाए । काङ्ग्रेस र कम्युनिष्ट पहिचान विरोधी पार्टी भएको उनले बताए । धरान १० स्थित सैनिक भवनमा भएको उद्घाटन सत्रमा केन्द्रीय सचिव परशुराम बस्नेत, प्रदेश नम्बर १ अध्यक्ष भुपेन्द्र नेम्बाङ, केन्द्रीय सदस्य भिम राई,बैकल्पिक केन्द्रीय सदस्य जेण्टल लावतीलगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।