धरान: आइतबार राती हावाहुरीको कारण बारा र पर्सामा ठुलो जनधनको क्षति भएपछि राहत स्वरुप नेपालीले काँग्रेसका सांसदहरुले दुई दिनको तलब दिने भएका छन् ।

कांग्रसका प्रमुख सचेतक बालकृष्ण खाँडले संघीय सभा, राष्ट्रिय सभाका सांसदको दुई दिनको तलब दिने निर्णय भएको जानकारी दिए । सिंहदरवारमा सोमबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक खाँडले बताए । एकदमै दुःखद र अकल्पनीय क्षति भएको छ, यसमा राहतको लागि संघीय सभा र राष्ट्रिय सभाका सांसदहरुको दई दिनको तलब दिने निर्णय भएको छ, सचेतक खाँडले भने । घटनाप्रति कांग्रेसले दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदनासमेत प्रकट गरेको छ ।

यसैगरि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद्हरुले पनि एक दिनको तलब हावाहुरी प्रभावित क्षेत्रमा राहतको लागि उपलब्ध गराउने भएको छ। नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राहत र उद्दारमा खटिन पनि आफ्ना नेता कार्यकर्तालाई आह्वानसमेत गरेका थिए ।