बारा: नेपाली कांग्रेसले बारा र पर्साका हावाहुरी पीडितलाई राहत स्वरुप २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मंगलबार बाराको फेटा गाउँपालिका पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले पीडितहरुलाई पार्टीकोतर्फबाट २५ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । आइतबार रातीको हावाहुरीले ठुलो धनजनको क्षति भएको क्षेत्रमा सभापति देउवा मंगलबार पुगेका थिए । उनले क्षतिको अवलोकन गर्नुको साथै पीडितहरुको गुनासो पनि सुनेका थिए । यस्तै, मंगलबार नै फेटा गाउँपालिका ६ पुरैनियाँ पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टीको तर्फबाट पाँच पाँच लाख दिने घोषणा गरे । साथै, प्रचण्डले सम्पूर्ण घाइतेको निःशुल्क उपचार पनि हुने बताए ।

प्रचण्डले परिवारका चारजना सदस्य गुमाएका इजाहार मियाँका एक छोरालाई निःशुल्क अध्ययन गराउने पनि घोषणा गरे । ती बालकलाई मुस्लिम भातृ संगठनले शिक्षाको व्यवस्था गर्ने बताइएको छ । प्र्रचण्ड उद्योगमन्त्री मातृका यादवसँगै फेटा गाउँपालिका पुगेका थिए । आइतबार रातिको हावाहुरीमा परी २८ जनाको मृत्यु भएको हालसम्म पुष्टि भएको छ भने ६ सय बढी घाइते भएका छन् । यसअघि, सोमबार बिहान प्रदेश २ मन्त्रीपरिषद बैठकले मृतकका परिवारलाई तीन लाख दिने निर्णय गरेको थियो ।